Harsamaya
कविता : जिन्दगी !
ग्राफिक्स : हर समय/Har Samaya

पाउनुको खुशी अर्कै छ,
गुमाउनुको पीडा बेग्लै ,
पाउँदा रमेको हर्ष,
गुमाउँदाको विस्माद !
उतार चढाव छ जिन्दगी,
शुन्यमा शुन्य घटेको छ,
हातमा फेरि शुन्य ।

घटाउँदा घटाउ मिलेन कि,
सरलीकरणमा शुत्र,
न ठ्याक्क हिसाब मिल्छ,
न त देखिन्छ गल्ती नै ,
नतिजामा हात लागेको शुन्य जस्तै
ओथारो बसेको गुँढ बनेछ जिन्दगी,
देख्दा चटक्क छ तर असरल्ल।

सपनाहरु सजिन्छन्
निकास नपाउँदै भत्कन्छन्
मित्रतामा उस्तै खडेरी,
विश्वास माथिको घात,
साटिएका मनहरु,
हरेक क्षण चोईटिन्छन्,
परालको झुपडी जस्तै रहेछन् सम्बन्धहरु,
रहुन्जेल सुन्दर तर निमेष मै खरानी,
लाग्छ, आफ्नाहरु नै पराई हुन ।

हाताहातीको जमाना,
हत्केलामा मित्रताहरू रगडिन्छन,
तरलताले थलिन्छ सम्बन्ध,
उधारोमा रुपान्तरित भावानुबेग ,
उत्खननको पर्खाइमा छन्,
लामबद्ध मलामीहरु,
गणनासँगै रितिई रहेछन्,
आफू जलेको खरानी समेत
पराईले पखाल्दैछ,
अपनत्वमा ओथाएको रिक्तता
जल समाधीमा समाहित अस्तुसँगै
विलय हुँदैछन् अनवरत,
लाग्छ,
वारुद सकिएको सलाईको काँटी जस्तै,
जिन्दगीमा न कुनै मिठास छ,
न मित्रताको अनुभूति,
न त अस्तित्वको आभाष नै ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update