एक ताउ पहाडे कागजमा,
परिचय खोजिन्छ यहाँ,
बजारु नारी तथा पुरुषसँग,
अस्मिता अनि पुरुषत्व जोखिन्छ यहाँ ।
सस्ता हुन कि आडम्वरी,
अन्जान हुन वा विदुर,
मौन कोलाहलको बिचमा,
मान्छे,आफूलाई नियाल्दै छ,
लाग्छ,आफ्नै पहिचान हराएको छ ।
आकाश हराएको छ बादल भित्र,
पानीका बुँदहरू पर क्षितिजमा,
टकराउँदै पोखिन खोज्दै छन्,
रोशनी छेकिदैंछ ग्रहण लागे झैँ,
त्यहीँ अस्थिरता भित्र,
कर्कलाको पातमा टिलपिलाएका बुँद झैँ,
मान्छे,आफूलाई नियाल्दै छ,
लाग्छ,आफ्नै पहिचान हराएको छ ।।
एकातिर युगल ढुकुरहरू,
विरहको गीत गुनगुनाउदैंछन्,
अर्को तिर,मयुर एकल नृत्य पस्कदैंछ,
त्यही नृत्यले थकित त्यो पन्छी,
आफ्नै खुट्टा नियाल्दैंछ अनि ,
सृष्टिकर्ताको चतुर्याई सम्झेर,
टप्लक्क आँसु झार्दै छ,
लाग्छ, आफ्नै पहिचान हराएको छ ।
राष्ट्र र राष्ट्रियताको लागि,
जीवन र जिजीविषाको लागि,
ओत र विरासतताका लागि,
मजबुरीलाई थाती राख्दै,
समायोजनको आँखीझ्यालबाट,
टङ्कण गर्दै छ भाग्यहरू,
लाग्छ, आफ्नै पहिचान हराएको छ ।

