Harsamaya
मुख्यमन्त्री शाहप्रति लम्कीचुहा नगरप्रमुखको आक्रोश : ‘अस्पताललाई राजनीति गर्ने थलो बनाइयो’
मेयर सुशिला शाही ।

काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लम्कीचुहा नगर अस्पतालको विषयमा सीमा नाघेको भन्दै लम्कीचुहा नगरपालिकाका प्रमुखले कडा असन्तुष्टि जनाएकी छन्। मेयर सुशिला शाहीले बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रदेश सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी हुन्।

नगरप्रमुखले अस्पताल निर्माण तथा सञ्चालनको विषयमा आफूले पटक–पटक सत्य तथ्य सार्वजनिक गर्दै आएको उल्लेख गर्दै आफ्नो आवाज दबाउन राज्य शक्ति प्रयोग गरिएको आरोप लगाइन् । उनले मुख्यमन्त्री शाहलाई लक्षित गर्दै अस्पताल निर्माणका विषयमा समन्वय र सहकार्य गर्न कहिल्यै चासो नदिएको बताएकी छन्।

उनले प्रदेश सरकारले नगरपालिकासँग कुनै औपचारिक समन्वय नगरी अस्पतालसम्बन्धी निर्णय अघि बढाएको आरोपसमेत लगाइन् ।  ‘स्थानीय सरकारलाई जानकारी नै नदिई सरकारी लगानीमा अस्पताल बनाउने प्रक्रिया अघि बढाइयो,’ उनले भनेकी छिन्।

मेयरका अनुसार अस्पताल सञ्चालनका लागि उनले चार बुँदे प्रस्ताव अघि सारेकी थिइन् । जसमा नगरपालिकासँग एमओयू गर्नुपर्ने, सर्वपक्षीय समिति गठन गर्नुपर्ने, आर्थिक दायित्व प्रदेश सरकारले लिखित रूपमा लिनुपर्ने तथा कर्मचारी समायोजनको विषय स्पष्ट गर्नुपर्ने माग समावेश छ।

उनले प्रदेश सरकारका प्रतिनिधिसहित भएको छलफलमा यी विषय एक साताभित्र टुंग्याउने मौखिक सहमति भएको दाबी गरेकी छिन्। तर, १० दिन बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको र बरु नगरपालिकामा हुलदंगा गर्न कार्यकर्ता पठाइएको आरोप लगाएकी छिन्।

नगरप्रमुखले प्रदेश सरकारले एकलौटी रूपमा गठन गरेको अस्पताल सञ्चालक समिति आफूहरूले स्वीकार नगर्ने स्पष्ट पारेकी छिन्। सर्वपक्षीय सहमतिमा समिति गठन गर्नुपर्नेमा जोड दिँदै उनले अहंकार र स्वेच्छाचारी प्रवृत्तिले अस्पताल परियोजनालाई नै संकटमा पारेको बताएकी छिन्।

उनले अन्त्यमा प्रदेश सरकारलाई जनतालाई दिग्भ्रमित पार्ने राजनीति बन्द गर्न आग्रह गर्दै समस्या समाधानका लागि आफू सधैं संवाद र सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update