Harsamaya
पार्टी र सरकारकाबीच कुनै पनि विवाद छैन - सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौं  - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । 

शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए । 

उनले सरकार आफैंले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको उल्लेख गरे । सभापति लामिछानेले रास्वपाले आफनै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रुपमा बुझ्न आग्रह गरे । 

रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरुलाई सकारात्मक रुपमा लिने गरेको उनको भनाइ छ ।

त्यस्तै सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफू अर्को पटक भोट माग्न नआउने बताए । 

उनले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफूलाई आवश्यक नरहेको उल्लेख गरे । मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उहाले नेता तथा कार्यकतालाई आग्रह गरे । 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update