अन्धकारको पर्दा उघार्दै,
कखराको सहाराले,
जीवन बोध गराउन,
अनि,
नवीन गन्तव्य, नवीन खोज,
आकर्षण र विकर्षणको द्वन्दबीच,
सुसुप्त भावनाहरुको उत्सर्जन गर्न,
शब्द भण्डारको निर्माणमा समाहित छन्,
लालायित छन्,अवयवहरू ।
सम्बन्धको सामिप्यता,
अक्षरहरूको जोड घटाउ,
शब्दहरूको समीकरणसँग,
एकाकार हुँदैछन वाक्यहरू
उत्सुकताको उन्मुक्तिका लागि,
कहिले वाक चातुर्यता त, कहिले छडी,
अक्षरहरू जीवन्तता कुर्दैछन्
कहिले छिमेकीसँग नजिकिन्छन्,
कहिले उफ्रेर पराइसँग नाता गाँस्दैछन् ।
रातको निष्तब्धता चिर्दै,
दिनको व्यग्र पर्खाइमा,
लोलाएका निरिह अनि निर्भिक नयनहरु,
कसैको पर्खाईमा टोलाइरहेछन,
एकोहोरो भावमा व्यग्रता छछल्किदैंछ,
लाग्छ निकै आतुरमा छन् प्रतिक्षाहरू ।
भष्मासुरको नलिहाड जस्तै,
आफू निमिट्यान्न नभईन्जेल,
मृत्यु सामन्जस्य नहुन्जेल सम्म,
अनि
जिजिविशाको त्यान्द्रो चट्ट नछिनुन्जेल,
सिक्ने र सिकाउने कला गलामा बोकेर,
अक्षरहरूकै उतार चढावहरूसँगै,
श्रुतिप्रिय शब्द निर्माणमा रमाउँदै,
अक्षर, शब्द अनि वाक्यको मिलावटमा,
सिकिरहेछन् अनि, सिकाइरहेछन् ।
साधनामा समर्पित,
निश्छल, निस्वार्थ,
अनि गाम्भीर्य,
कहिले संवेग त कहिले आवेग,
यस्तै उछालको छालसँगै
पल पल आफूलाई सिध्याई रहने,
भरियाको भारको विश्रामस्थल जस्तो,
गहन अनि जिम्मेवारीको गुच्छा,
सामीप्यताको रशी,
अनि,
सरलीकरणको आधार,
आहा! कस्तो अद्भुत,श्रुतिप्रिय,
अनि आदरार्थी शब्द "गुरु" ।

