
म प्रायस:महिनाको दुई-तीनपटक यही राजमार्गको बाटो भएर जोडिएको अर्को जिल्लाको सदरमुकाममा जाने गर्दथेँ । मेरो घरबाट सदरमुकामको दूरी करिब एक घण्टा जतिको हँकाइमा पुगिन्थ्यो । चिनेजानेका साथीभाइ भेटिएमा बाहेक बाटोमा कतै पनि नरोकिइ सिधैं सदरमुकामको बजारमा पुगी काम सकाइ लगत्तै घरमा नै फर्कने मेरो दिनचर्या थियो।
एकदिन बीच बाटोमा नै मेरो मोटरसाइकल बिग्रेर त्यहाँ नजिकै रहेको ग्यारेजमा मोटरसाइकल बनाउन दिँए र मिस्त्रीले एक घण्टापछि आउनु भनेकोले म कतै बसेर समय बिताउने विचारमा थिएँ । नजिकै एउटा दुई तले सिमेण्टेड घरमा चिया पसल देखेर त्यही बसेर चिया खाँदै समय बिताउने बिचारले म त्यस होटेलमा पसें । म यो बाटो प्रायस: हिडिँरहने भएकोले त्यो घर त मैले देखेको थिंए,तर होटेल नै रहेको कुरा याद गरेको थिइन ।
होटेल भित्र पसिसकेपछि त्यो होटेल मध्यम खालको रेष्टुरा भएको मैले अनुमान गरें । बिहानीको समय घर्किसकेकोले त्यस रेष्टुरामा दुई जनामात्र ग्राहक रहेको देखें र म तेस्रो ग्राहकको रुपमा गएर भित्र रहेको मेचमा बसें । मैले यहाँ चिया खाएर मेरो मोटरसाइकल नबनुन्ज्याल एक घण्टा बिताउनु पर्थ्यो । रेष्टुरॅामा रहेका दुई ग्राहक मध्य एक जना ग्राहक स्टिलको गिलासमा रहेको पेय पदार्थ पिउँदै थियो भने अर्को टिकाधारी ग्राहक कॅाचको गिलासमा रहेको चिया सुरुप-सुरुप गर्दै बिस्तारै पिउँदै थियो ।
मैले अनुमान गरे अनुसार टिकाधारी ग्राहक पनि म जस्तै फुर्सदिलो थिए भन्ने कुरा उनको चिया पियाइको तरिकाबाट अनुमान गर्न सकिन्थ्यो । र उनी कुनै स्थानीय भएकोले निर्धक्क भएर भित्री कोठाको भान्छामा रहेको कुनै व्यक्तिसँग कुराकानी गर्दै चियाको चुस्की लगाउँदै थिए । भान्छाभित्रको व्यक्ति कहिलेकाहीँ भान्छाको सानो झ्यालबाट टाउको निकाल्दै भित्र खानेकुराहरु पकाउँदै थियो र ग्राहकको खानोकुराको अर्डर पनि त्यहीँबाट नै लिइरहेको देखिन्थ्यो।
ए रुद्रे…एक गिलास थप त मलाई…!स्टिलको गिलासलाई बिस्तारै टेबलमा ठोक्दै अर्को टेबलमा रहेको लामो जॅुघा र च्यॅासे काया भएको ग्राहकले आदेशात्मक शैलीमा हकाऱ्यो । मैले अर्डर गरेको चिया लिएर भान्साको व्यक्ति म कहाँ आएर मेरो टेबुलमा चिया राखेर नबोली गयो । उसले जॅुघे च्यासेप्रति उपेक्षा गर्दै फेरि भान्छाको आफ्नो काममा व्यस्त भयो । भान्छेको व्यवहार देखेर हो वा अन्य कुनै प्रयोजनले हो टिकाधारी व्यक्ति म प्रति हेर्दै मुस्कुरायो ।
उनी मसँग कुरा गर्ने उपाय खोजिरहेका जस्तो उनको भंगिमाबाट मैले लख काटें । उनले मैले केही बोल्नु अगाडि नै प्रश्नवाचक शैलीमा उद्गार व्यक्त गरे “मैले हजूरलाई त ….!”मैले उनको आशय बुझें र उनको जिज्ञासा मेटाउन भने “हो दाई …म नेपालगञ्जको मान्छे हँ…सदरमुकाम गुलेरियातिर आउने काम परिरहन्छ…आज यता आउँदा -आउँदै बाटोमा नै मोटरसाइकल बिग्रियो..यसो चिया पनि खाउँ ,समय पनि बिताउँ भनेर यता पसेको..! मैले आफ्नो यथार्थता बताएँ। नजिकै टेबुलमा रहेको जुंघे च्यासे व्यक्तिले ठूलो श्वर गरेर थप एक गिलास रक्सीको माग गर्दै गिलास टेबुलमा बजाऱ्यो । भित्र भान्छाबाट कुनै प्रतिकृया पनि आएन र त्यो ग्राहकले माग गरेको वस्तु पनि ल्याइएन ।
ती नव मित्र मेरो नेपालगञ्जको विषयमा जानकार रहेछन् र भलाकुसारी पछि उनले मेरो ठाउँ र मेरो बारेमा जानकारी पाए । हामी बिच विभिन्न विषयमा विमर्श हुन थाल्यो र हामी हाम्रै गफमा पूर्व परिचित मित्र जस्तै भएर निमग्न भयौं। हामी एक अर्कामा मित्रवत रुपमा नै बात मार्दै थियौं एक्कासी अर्को टेबुलको जुंघे आक्रोशित रुपमा गर्जन गर्दै बोले पछि हाम्रो गफ उसको भावभंगितर्फ आकर्षित भयो। ए रुद्रे ! मैले भनेको सुनिनस्…मलाई एक गिलास रक्सी छिटो हाल्…छिटो भन्या…!
उसले हाम्रो उपस्थिती र बातचितलाई पुरै बेवास्ता गरेको थियो र कहिले टेबुलमा झुल्थ्यो भने धेरै जस्तो उसको दृष्टि भान्छातर्फ नै सोझिएको देखिन्थ्यो। होटलवालाले भित्रबाट एउटा स्टिलको गिलासमा रक्सी ल्याएर उसको अनुहारमा नहेरी उपेक्षित भावले खाली गिलासमा रक्सी खन्याइदियो । त्यो व्यक्तिले झम्टिए जस्तो गरी गिलास समातेर रक्सी मुखमा लगाएर घुटुक्क निल्यो। मैले देखे-उसको मुहारमा सन्तुष्टिको आभा प्रष्फुटित भएको थियो । होटेलवालाले त्यो जुंघेतर्फ हेर्दै याचनामयी मुद्रामा भन्यो “राजा आज हजूरलाई रक्सी धेरै भयो…घरमा भुजा खान सवारी होस …मैयासाब पर्खिस्या छ” भन्दै उ भान्छाको काममा नै व्यस्त भयो । त्यो व्यक्ति होटेलवाला तर्फ राता आँखाले हेर्दै हँकार गर्दै रह्यो र आफ्नै पिउने कृयामा लाग्यो ।
मसँगै वार्तामा रहेको टिकाधारी व्यक्तिले उ तर्फ मुखातिब हँदै,नाक सिकुडाउँदै मलाई उसँग नबोल्न इशारा गरे । हामी दुबै जना उसलाई वास्ता नगरी आ-आफ्नै कुरा गराइमा नै व्यस्त भयौं। उनको भनाइ अनुसार उनको कुनै आफन्तले त्यसै होटेलमा भेट्ने समय दिएकोले पर्खेर बस्नु परेको कुरा गरे। हजुरको मोटरसाइकल बिग्रेको र म पनि आफन्त भेट्नु परेकोले एक आपसमा परिचय हुन पाएको भनेर उनले खुसी व्यक्त गरे । हामी कुरा गर्दै रहेको बेला पल्लो टेबुलमा रहेको जुंघे व्यक्ति गिलास टेबुलमा राखेर झुल्दै एकातर्फ ढल्कियो। होटेलवालाले त्यो दृष्य देखेर हतारिंदै आएर उठाइदिंदै दिक्दारी व्यक्त गर्दै भन्यो “मैले अघि नै भन्या हैन…राजा मैले अघि नै आज हजूरलाई बढी भयो,नथपिबक्स्योस भन्या” थेँ..सधैं यस्तै हुन्छ,कति सहनु…!
उसले लाचार ब्यक्त गर्दै भन्यो। रुद्रे तैंले यो राजा भनाउँदाको पूर्बजन्मको धेरै रीन खाको रैछस्,यसको तॅ धर्म बाउ रहेछस,कति बाँच्ला र…बाचुन्जेल राजाको हेरचाह गर्नु तेरो धर्म हो….तेरो जग बसाल्देको पनि यसैले हो…यो अब बेहोस भयो ,दिनभरी ब्युझदैन ! उनले अर्तिको भाषामा धर्मको व्याख्या गरे। “हो हजूर मेरो यो जीवन सार्थक बनाउने उहाँको गुन त म कहाँ बिर्सन सक्छु र मलाई राजाको माया पनि लाग्छ…रक्सीले शरीर धेरै गालिसक्यो,धान्न नसकिने गरि नखाइस्योस भनेर लाख बिन्ती गरिसकें,मैयासाबले पनि सम्झाइ बक्सन्छ ,पटक्कै मान्ने होइन। कहिले काहीँ रक्सी छोडाउन नदिउँ भनेर नदिंदा रिसाउने,तोडफोड गर्ने,बाटोबाट नै जथाभावी गाली गर्ने गरिसिन्छ….! खै के गर्ने…पहिले राजाकै घरमा काम गर्न बसेर मैले बिहा गरेकी मेरी बुढी त देखै पर्दिन, मैले नै बोकेर लगेर ओछ्यानमा सुताइदिनु पर्छ। मेरो त कामै यही भइसक्यो …” होटेलवालाले दिक्दार हँदै भन्यो।
मलाई त्यहाँ भएका घटना र उनीहरुबीच भएको कुराकानीको रहस्य बारेमा जान्ने जिज्ञासा बढ्यो । रक्सीले झण्डै बेहोसीको अवस्थामा पुगेको राजालाई घर पुऱ्याउन होटेलवालाले बोकेर हिँडेपछि मलाई रक्स्याहा राजा र त्यहाँको स्थितिबारे जानकारी लिने इच्छा लाग्यो । मैले टिकाधारी मित्रलाई जिज्ञासा राख्दै सोधे “तपाई राजालाई चिन्नुहुन्छ ? तपाई कहिले यस ठाउँमा कहिले कसरी आउनु भएको भनेर सोधे । उहाँले शान्त भावमा बेलिबिस्तार लगाउन थाल्नु भयो” हामी पनि राजा कै रैती नै त हौं नि …!” उहाँको कुराले मलाई झन चकित बनायो र मैले सबै कुरा भन्नुहोस न भनेर अनुरोध गरें । टिकाधारी मित्रले अगाडि भन्न शुरु गरे “म पहाडको मान्छे ! घुम्दै यस ठाउँमा आइपुग्दा मलाई बाहुनको छोरा भनेर यो राजाका बाबुले नै आफ्नो जग्गा दिएर यहाँ राम मन्दीर बनाएको र एक बिगाह जमिनसहित त्यस मन्दीरको पुजारी मलाई बनाएर घरबासको व्यवस्था राजाको बाबुले नै गरिदिएको हो “होटलवालाले राजालाई बोकेर लग्दै गरेको मूल सडकको भित्रपट्टीको जीर्ण घरतर्फ इंगीत गर्दै उहाँले राजाको घर त्यही हो भनेर औलाले संकेत गर्दै देखाइदिए । राजा-महाराजा-सामन्तीहरु धरासयी भएर ‘भ्रंसी’(पतन वा नास)भएको घटनाहरुबारे मलाई जानकारी भएकोले राजाको विषयमा अन्य कुराहरु पनि बताउन अनुरोध गरें। उनले उक्सिंदै बताउन थाले।
“बाजुराका राजा(रजौटा)का एक भाई हिक्मत बहादुर सिंह तत्कालीन समयमा हाडनाताको व्यभिचारको जघन्य आरोप लागेर देश त्याग गर्न बाध्य भएका थिए । उनलाई नयॅा मुलुकको यस अनकण्टार ठाउँमा केही सय बिघा जमीन केन्द्रबाट बक्साएर भाई हिक्मत बहादुर सिंहलाई दरबार बनाई यस स्थानमा राखिएको रहेछ । उनको स्वभाव र मस्तिपनले गर्दा उनले धेरै जना रखौटी राख्ने र मद र मदिरामा आफ्नो जीवन बिताउन थालेछन। विवाहित रानीसाहेबबाट जन्मेका यी राजा प्रसिध्द बहादुर सिंहको पालामा पनि यिनको नाममा पचासौं बिघा जमीन रहेको थियो । भारतको लखनौंमा पढेका भए पनि वयष्क भएपछि आफ्नो मौजामा फर्केर उनले पनि बाँकी रहेका सुनचाँदी, जमीन र अन्य अचल सम्पत्तिहरु बेच्दै खाँदै ,मोजमस्तीमा रमेर सबै सम्पत्ती सिध्याए। रक्सीको लतले उनी अहिले यो स्थितिमा आइपुगेका हुन।” उनले राजाको वंशीय बर्णन गरे।
यो ठाउँमा हाल दुई जिल्लाको सदरमुकाम जोड्ने राजमार्ग बनेको र बिस्तारै बस्ती पनि बढ्न थालेको थियो । एक-दुईवटा पक्की घरहरु, साना पसल र ग्यारेजहरु पनि पातलो रुपमा व्यवस्थित हँदै थियो। राजाको घर जीर्ण भइसकेको थियो र बस्ती नयॅा भएको हँदा नयॅा घरहरु बन्ने क्रम बढिरहेको थियो। त्यसै क्रममा हामीले चिया खाएको रुद्रेको घर पक्की खालको सिमेण्टेड थियो। मैलो त्यहाँको अन्य स्थिती र होटलवालाको अवस्थाबारे जिज्ञासा राख्दा मित्रले मलाई थप जानकारी गराउन थाले। “यो होटेलवाला रुद्रे यही राजाको नोकर हो…” उनले नअडिइ भन्न थाले “आजभन्दा तीस बर्ष अघि यहाँ जंगल नै थियो र राजाले बसाएका हरुवा-चरुवाहरु छाप्राहरु बनाएर बसेका थिए । राजाले वरपरका मानिसहरुलाई केही जमीन बाँड्दै बसोबास गराउँदै लालपुर्जा पनि दिलाइदिएका थिए। मलाई पनि मन्दीरको गूठी भोगचलन गर्ने र गुजाराको लागी एक बिघाहा जग्गा राजाले नै बक्सिस दिएका थिए।
यो रुद्रे…एउटा नाबालक अनाथ केटालाई भेट्टाएर राजाले आफ्नो घरमा नोकर राखे । यो रुद्रे ठिटो भएपछि घरमा नै काम गर्न राखेको थरुनी केटीसँग रुद्रेको लगनगॅाठो कसिदिए र यही घर भएको ठाउँमा छाप्रो हालेर राखिदिए। राजाको लागी आवश्यक सामान ल्याइदिने, घरायसी सम्पुर्ण हेरचाह गरिदिने र रक्सीको व्यवस्था गरिदिने काम यही रुद्रेले गर्न थाल्यो। एउटा छोरा पाएर विवाहित रानीसाहेब यी राजालाई छोडेर आफ्नो माइत भारततिर लागिन।
रानीसाहेबले नछोडेको भए पनि यो राजाको यस्तो गति हुने थिएन कि ? सबै माथि हैकम चलाउने र गाली गर्ने कारणले यी राजालाई रैतीहरुले पनि मान्न छोड्दै गए। यो रुद्रेले पनि राजालाई हरेक दिन रक्सी ख्वाउन र आफ्नो सन्तानको लागी केही जोहो गर्न सानोतिनो व्यवसाय गर्न थाल्यो। हामी सबै टोलबासीको भनाई मानेर चिया पसल पनि सञ्चालन गर्न थाल्यो। राजाको बाँकी रहेको जमीन,सुनचाँदी,जंगलका काठहरु बेचेर पैसा जुटाउने हर्ताकर्ताको काम पनि रुद्रेले नै सम्हाल्यो।
केही पढ्ने -लेख्ने मौका पनि पाएको र भित्री मनको बाठो र मेहनती भएको कारणले उसले व्यवसायमा पनि प्रगति गऱ्यो। राजालाई हेरचाह गर्न राजाको पुरानो गाउँबाट दिदी नाता पर्ने विधवा महिला ल्याएर राजाको स्थिती सुधार्न निकै प्रयास पनि गऱ्यो। राजाप्रति अति बफादार र इमान्दार भएर काम गर्दै आएको यो सबै हामीले देख्दै आएको सत्य हो र यी सब कुरा आज पर्यन्त उसले निभाउँदै आएको छ। राजालाई ठगेको,झुक्याएको आजसम्म हामीलाई थाहा छैन। बल्कि आफूले कमाएको पनि राजाको लागी खर्च गर्दै आएको छ। तर राजा आफू अहिले समाप्तिको स्थितिमा पुग्दा पनि उसको हैकम र तुजुक उस्तै रहेको जस्तो गरी अभिनय गर्दैछन्। तर अहिले राजा निर्धन र निर्बल भएकोले कसैले पनि टेरपुच्ठर लाउँदैनन्। उसलाई कसैले रक्सी खान दियो र राजा भनिदियो भने मग्न हुन्छ। रक्सी नखाएको बेलामा राजा कोहीसँग पनि हेलमेल, वास्ता वा बोलचाल पनि गर्दैनन्।
अघि टेबुलमा बसेर रक्सी पिइरहेको बेलामा कतै पनि नहेरी आफ्नै तालमा रमाइरहेको देख्नु भयो होला नि ,खानेकुरा केही पनि खादैंन,रक्सीले मात्र यो राजा अहिलेसम्म कसरी बाँचिरहेको छ-अचम्म लाग्छ ! अब त रक्सी खादा-खाँदै ढल्न थालेको हँदा धेरै बाँच्ला जस्तो त लाग्दैन…तर पनि मान्छे कृतघ्न हुनुहँदैन,बाँचुन्जेल त सबैले सहयोग गर्नु पर्ला ! कसैले भनेको पनि नसुनेपछि सबैजना हत्तु भइसके…” उनले सदायसता व्यक्त गरे।
मैले उनको रानीसाहेबलाई र उसको छोरालाई बोलाएर उनको वंश स्थापना गर्न सकिन्छ कि भन्ने संभावनाका कुराहरु गरें। उनले मेरो सवालको जवाफ दिंदै भने “रानीसाहेब पक्षघात भएर भारतको माइतीमा नै बेहाल अवस्थामा रहेको र एउटा भएको छोरा पनि विदेशमा भएको र वर्षौंदेखी सम्पर्कविहीन रहेको थाहा हुन आएको कुरा बताए ।” म त्यहाँको स्थितीको मनन गर्दै राजाको वंश लोप हुन लागेको परिदृष्य कल्पना गरेर नोष्टाल्जिक भएँ ।
- रेशमबहादुर पाँडे,नुवाकोट, विदुर नपा-१० गेर्खुटार।