
काठमाडौं - नेपाली सिने जगतका चर्चित अभिनेता तथा निर्देशक सरोज खनाल ८ वर्षको अन्तरालपछि रंगमञ्चमा भव्य पुनरागमन गर्दैछन्। थापागाउँस्थित मण्डला थिएटरको २०८२/८३ सालको योजनाबारे सोमबार आयोजित विशेष कार्यक्रममा बोल्दै खनालले आफ्नो थियटर यात्राको पुनः आरम्भको घोषणा गरेका हुन्।
सरोज खनालले रंगमञ्चमा सन् १९८७ मा ‘भस्मासुरको नली हाड’ नाटकबाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसयता उनले ‘प्रेम पिण्ड’,‘कप्तान’ , ‘प्रेमगीत’, ‘सम्हालिन्छ कहिले मन’, ‘बगान’ जस्ता दर्जनौँ सुपरहिट चलचित्रहरूमा अभिनय गरेका छन्। यद्यपि, रंगमञ्चको मोह कहिल्यै मरेको थिएन।
‘मैले अहिलेसम्म ३० भन्दा बढी नाटक खेलेको छु। जहाँबाट मेरो उत्पत्ति भयो, त्यो भूमिलाई म कहिल्यै बिर्सन सक्दिन’, खनालले भावुक हुँदै भने, ‘बीचमा केही वर्ष अमेरिका बसेँ, फर्किएपछि मण्डलाले नै नाटक गर्न निम्तो दिनुभयो।’
फेरि थिएटरमा फर्कन पाउनु आफ्नो लागि गर्वको क्षण भएको उनले बताए। ‘७३ सालपछि यो मेरो पहिलो स्टेज कार्यक्रम हो। निकै नर्भस छु तर उत्तिकै उत्साहित पनि’, खनालले भने, ‘अब चाहिँ नाटकमै फर्किनु पर्छ भन्ने महसुस भयो। स्टेजले जुन अनुशासन, जुन क्यारेक्टरमा बस्ने क्षमता दिन्छ, त्यो सिनेमामा हुँदैन।’
उनले चलचित्र ‘बगान’ को प्रचारका लागि अमेरिका जाँदा अनुप बरालको एउटा महत्वपूर्ण नाटक खेल्न नपाएकोमा आजसम्म गिल्ट महसुस भइरहेको बताए। ‘उहाँले त पर्खिएर बस्नुभयो, तर मलाई लाग्यो म १४-१५ दिनमा त्यो पात्रलाई न्याय गर्न सक्दिन र नाटक छोड्नुपर्यो’ उनले स्पष्ट गरे।
सोमबारको कार्यक्रममा उनले नयाँ नाटकमा सहभागी हुने घोषणा पनि गरे। ‘सोमनाथजीले महेन्द्रनगरमा फ्लिमको सुटिङ गर्दै गर्दा फोन गर्नुभयो। पात्र के हो भनेर पनि सोधिनँ। स्क्रिप्ट १ घण्टामा पढेर भनेँ – म गर्छु। मण्डलाप्रति विश्वास छ’ खनालले भने।
उनको नयाँ नाटक मण्डला थिएटरमा आगामी दुई महिनाभित्र मञ्चन हुने तयारीमा छ। सरोज खनालको यो रंगमञ्चमा पुनरागमन नेपाली नाटकप्रेमीहरूका लागि उत्साहको विषय बनेको छ। मण्डला थिएटरका अनुसार नाटकको नाम, स्क्रिप्ट र अन्य विवरण छिट्टै सार्वजनिक गरिनेछ।
सरोज खनालको यो फर्काइलाई नेपाली थियटरको पुनःजागरणको संकेतका रूपमा पनि हेरिएको छ।