Harsamaya
असोज १७ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

दुर्गा विसर्जनको क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबिच फेरि झडप भएको छ ।दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरामा आगजनी गरेको छ ।अरू के के भए ? मुख्य समाचारहरू । 

जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि झडप भएको छ ।दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरामा आगजनी गरेको छ ।

आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।

प्रधानमन्त्री कार्यलयको निर्देशन : विपद् पूर्व तयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्नु

प्रधानमन्त्री कार्यालयले विपद् पूर्व तयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ  ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्व तयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी रूपमा सम्पादन गरी विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

रातको समयमा काठमाडौं आवातजावत नगर्न काठमाडौं प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातको समयमा काठमाडौं आवतजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले सूचना जारी गर्दै मौसमी प्रतिकूलताका बाबजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । ‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ’ सूचनामा उल्लेख छ ।

विपद्‌को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।

अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्व तयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो ।

निर्णयअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लका मुख्य र सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।

प्राधिकरणले सार्वजनिक गर्यो आन्तरिक उडानको नयाँ हवाई भाडादर

नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने  र यात्रु ठगीने अवस्थालाई मध्यनजर गर्दै आन्तरिक उडानको नयाँ हवाई भाडादर सार्वजनिक गरेको छ। 

प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

विश्वकप छनोटका लागि सन्दीप सहित १५ सदस्यीय टोली घोषणा

नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update