Harsamaya
मंसिर १५ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स : हर समय/harsamaya

सरकारले  भाद्र २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश : सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधिशद्धय नित्यानन्द पाण्डेय र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । 

काँग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्य तालिका सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए ।

उनका अनुसार बैठकले पार्टी संरचना सुदृढीकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । काँग्रेसको १५ औँ महाधिवेशन २०८२ पुस २६,२७ र २८ गते हुने गरी प्रस्तावित कार्य तालिका केन्द्रीय समितिमा पेस गरिएको थियो र त्यो सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ ।’

मेयर शाहका बुवा रामनारायण शाहको निधन : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको उनको सोमबार मृत्यु भएको हो । उनको पिसाबमा देखिएको संक्रमण शरीरभरि फैलिएपछि अवस्था जटिल बन्दै गएको थियो। उनको भेन्टिलेटरमा उपचार हुँदै थियो ।

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर : बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ । 

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएका हुन् । 

साइक्लोन‘डिट्वाह’का कारण श्रीलंकामा १५९ जनाको मृत्यु, संकटकाल घोषणा : पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलंकामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।

देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन् । गम्भीर रूपमा बिग्रिँदो परिस्थितिले देशभर ठूलो मानवीय क्षति भएपछि श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा डिसानायकेले सार्वजनिक संकटकाल लागू गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update