नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् । महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट नगर्दा केन्द्रीय कार्यालयमा उजुरी आएको बताए । उनका अनुसार ओखलढुङ्गा, धनकुटा, दाङ, बाँके, बझाङ, तनहुँ, बारा र रौतहटमा प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरी आएका हुन् । ती जिल्ला देखिएका समस्या चाँडै समाधान गरिने पनि उनले जानकारी दिए।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पेट्रोलियम पदार्थः पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ । मंसिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
निर्वाचनका लागि १२० दल दर्ता: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । दल दर्ताको अन्तिम दिन कुल १२० वटा दल दर्ता भएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले लोकान्तरलाई जानकारी दिए । यस अघि मंसिर १० गतेसम्मका लागि दल दर्ताको म्याद तोकिएकोमा राजनीतिक दलहरूको संख्या बढ्दै जाँदा आयोगले मंसिर १४ गतेसम्म म्याद थप गरेको थियो । मंसिर १४ गते थपिएको म्याद भित्र कुल १२० वटा दलले दर्ता गरेका प्रवक्ता भट्टराईले बताए । यसैगरी आयोगले १६८ वटा मतदान स्थल थप्ने निर्णय गरेको छ ।
भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुँदै: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सोमबार सार्वजनिक गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्ने प्रावधानअनुसार केन्द्रीय बैंकले भोलि नीति समीक्षा बाहिर ल्याउन लागेको हो। यसपटकको समीक्षा नियमित भए पनि केही महत्वपूर्ण प्रावधान परिमार्जन हुने संकेत देखिएको छ। विशेषगरी बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा कर्जा लगानी गर्ने सीमा र अवधिसम्बन्धी व्यवस्थामा संशोधन ल्याउने तयारी छ।
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो । उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ ।
भ्रष्टाचार मुद्दा दायर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । आयोगले पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्णप्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।
कर्णालीमाथि काठमाडौंको सानदार जित: नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्समाथि ५ विकेटको जित निकाल्दै काठमान्डु चौथो खेलमा विजयी भएको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । यो सँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ । काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए ।

