Harsamaya

काठमाडौं - सरकारले  भाद्र २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलङ्का सरकारलाई सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने, कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने र बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने समेत निर्णय भएको छ ।  

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update