Harsamaya
मंसिर २ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स:हर समय/Har Samaya

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि कानुनी उपचार र शान्तिपूर्ण संघर्षमा जानुपर्ने धारणा राखेका थिए ।  

घुस रकमसहित दुई कर्मचारी पक्राउ
नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय रु एक लाख घुससहित पक्राउ परेका छन् । छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निजहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राउत र उपाध्यायले सेवाग्राहीसँग रु एक लाख घुस मागी लिइसकेको अवस्थामा आज वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय पर्सा–१, २, ३ नं नापी टोलीको कार्यालयबाट पक्राउ गरिएका हुन् । यसबारे थप अनुसन्धान अघि बढाइएको प्रवक्ता पौडेलले जानकारी दिए ।  

‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा दुवै आँखा गुमाएका सुर्खेत वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष बोहरालाई भेटेर जानकारी लिएकी छिन् । आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उहाँले बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । प्रधानमन्त्री कार्कीले उपचारको प्रगतिबारे चिकित्सकसँग जानकारी लिनुका साथै बोहरा परिवारसँग भेट गरी आवश्यक सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । गत भदौ २४ गते सुर्खेतमा भएको घटनामा गोली लागेर बोहराले दुवै आँखा गुमाएका थिए । प्रधानमन्त्री कार्कीसँग घाइतेका बुवा चन्द्रबहादुर बोहोराले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरे । उनले छोरा एवं आश्रित परिवारको भविष्य अनिश्चित भएको भन्दै श्रीमती, चार वर्षीया छोरी तथा बुबाआमाको जीविकोपार्जनमा ठूलो कठिनाइ हुने भन्दै ध्यानाकर्षण गराए । 

दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी विरुद्धको सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठ जना पक्राउ
काठमाडौं - प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने र दुःख दिने गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ, शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँकी १८ वर्षीय भगवान तामाङ, सुर्खेत बराहताल गाउँपालिका–१० का २९ वर्षीय टेकबहादुर सुनार, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप रामेछाप नगरपालिका–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का ३८ वर्षीय जीवन लामा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ । विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो । पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको हो । विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् ।

यस्तै आजै भएको पहिलो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update