धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षीय शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
दश वाणिज्य बैंकहरूले घटाए ब्याजदर: वाणिज्य बैङ्कहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैङ्कले ब्याजदर घटाएका छन् भने १० बैङ्कले ब्याजदर यथावत् राखेका छन् । औसतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिक महिनामा ५.२००५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर मङ्सिर मा घटेर ५.०४०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशतमै स्थिर रहेको छ, जसमा ग्लोबल आईएमई बैङ्कले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने व्यवस्था गरेको छ । ब्याजदर घटाउने बैङ्कमध्ये एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन् ।
पुस २३ मा मनोनयन दर्ता: राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
संसदीय निर्वाचनका लागि माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ । आयोगले आइतबार अर्थात् कात्तिक ३० गते सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न समय तोकेको हो । मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने आयोगको निर्वाचन कार्य तालिकामा उल्लेख छ । माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट: चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि सर्लाहीका ४ सहित मधेस प्रदेशका २४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि बजेट पेस गर्ने निश्चित मितिहरू तोकिदिएको छ, जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये २४ तह अझै बजेटविहीन अवस्थामा रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सर्लाहीका मलङ्गवा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रनगर र रामनगर गाउँपालिकाले बजेट पेस गरेका छैनन्।
महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको छ: ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा भइरहेको बताएका छन् । आइतबार महानगर प्रहरी बलबाट भए गरेको कार्यहरूको ‘महानगर प्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटेल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहदरबारलगायत ठाउँमा ७९ पटक ललितपुरमा महानगरपालिकाले दमकल सेवा प्रदान गरेको बताउँदै उक्त सेवाको चौतर्फी चर्चा भइरहेको बताएका हुन् ।
कर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे: कर्णाली याक्स स्पोट्स प्रा.लिमा अनुबन्ध भएका स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन् । शनिबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे लगायत प्रतिनिधिहरुले स्वागत गरेका थिए । यसअघि शुक्रबार राति अफगानिस्तान पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए । भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन् । अब, अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आवद्ध हुन बाँकी छन् ।

