Harsamaya
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।

आयोगले आइतबार अर्थात् कात्तिक ३० गते सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न समय तोकेको हो ।

मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने आयोगको निर्वाचन कार्य तालिकामा उल्लेख छ । माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै‚ प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने जनाएको छ । निर्वाचन कार्यक्रमअनुसार, माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ ।

सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्य तालिका रहेको आयोगले जनाएको छ ।

माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update