Harsamaya
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा मनोनयन दर्ता
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं -  राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम छ । दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने तालिका रहेको छ ।

निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रियसभाका १९ सांसद आउँदो फागुनमा बिदा हुँदै छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update