Harsamaya
मंसिर १ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् । उपत्यकाका तीन वटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नु: मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले सभामुख मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो। इजलासले यही मंसिर ७ गतेको पेसी तोकिदिएको छ । सभामुख मण्डलले आफूविरुद्ध पदीय आचरण नगरेको प्रस्ताव दर्ता गर्ने पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए । सभामुख मण्डलको निर्णयविरुद्ध पाँच सांसदले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रधानमन्त्री कार्कीको चार बुँदे निर्देशन: भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार (मंसिर १) केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गरेकी छन् ।त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताइन् । छलफलपछि उनले केन्द्रलाई चारबुँदे निर्देशन दिएकी छन् ।

दलहरूले दिए निर्वाचनका लागि दर्ता निवेदन: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ । आयोगमा  हालै एकताको घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र एकता घोषणा गर्ने क्रममा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लगायत एक दर्जन राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्य तालिकाअनुसार आजदेखि यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको अवधि तोकिएकामा पहिलो दिनमै उत्साहजनक रूपमा दल दर्ता कार्य अगाडि बढेको बताए ।

उद्घाटन खेलमा काठमाडौं विजयी: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंको जितमा ओपनर बेन चार्ल्सवर्थले आक्रमक व्याटिङ गर्दै ४६ रनको योगदान गरे । यस्तै अर्का ओपनर आकाश त्रिपाठीले ३९ रनको योगदान गरे ।

तीन राहदानी 'बिचौलिया' प्रहरीको नियन्त्रणमा: प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले विभागको मूलगेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई 'छिटोछरितो पासपोर्ट बनाइदिने' भन्दै अतिरिक्त रकम लिने गरेका थिए ।

तीन दिन बन्द भएका विद्यालय खुले: विद्यार्थीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिन थालेपछि बढेको स्वास्थ्य जोखिमका कारण बन्द गरिएका उमा कुण्ड गाउँपालिकाका विद्यालयहरू आजदेखि पुनः स्वास्थ्य सावधानीसहित सञ्चालनमा आएका छन् । फ्लुका कारण गाउँपालिकाले कात्तिक २८ देखि ३० गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको थियो  । गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाका अनुसार स्थानीय विद्यालयमा भाइरल फ्लुको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि कक्षा स्थगित गरिएको थियो। ‘आजदेखि सबै विद्यालय खुलेका छन्, तर विद्यार्थीको उपस्थिति सामान्यभन्दा कम देखिएको छ,’ उनले भने । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update