काठमाडौं - मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले सभामुख मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो।
इजलासले यही मंसिर ७ गतेको पेसी तोकिदिएको छ । सभामुख मण्डलले आफूविरुद्ध पदीय आचरण नगरेको प्रस्ताव दर्ता गर्ने पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए ।
सभामुख मण्डलको निर्णयविरुद्ध पाँच सांसदले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनारले विश्वासको मत लिने गरी डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग समन्वय नगरेर विश्वासको मतमा असफलता पार्ने भूमिका खेलेको आरोप मण्डलमाथि लगाइएको छ ।
पाँच सांसदले उनले पदीय आचरणअनुरूप काम नगरेको भन्दै महाभियोग प्रस्ताव अघि बढाउने गरी प्रस्ताव दर्ता गरेका थिए ।
तर, सभामुख मण्डलले पाँच सांसदलाई ‘१० पटकसम्म संसद् बैठकमा उपस्थित नभएको’ कारण देखाएर उनीहरूलाई पदमुक्त गरिदिएका थिए ।
पदमुक्त गरिएका प्रदेशसभा सदस्यहरू उर्मिलादेवी सिंह, मनीषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन कलवार, शारदा शंकरप्रसाद कलवार छन् ।

