Harsamaya

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्यायपालिका र आफ्नो सम्बन्धमा सार्वजनिक भएका समाचार तथा विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै न्यायिक विचलनसम्बन्धी अनुसन्धानमा पूर्ण समर्थन र सहयोग रहने बताएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै न्यायाधीश फुयालले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गरेका हुन्।

उनले पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाएर गरिएका कार्य राज्यको जानकारीमा आइसकेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।

आफ्नो विषयमा सार्वजनिक भएका तथ्य तथा समाचारलाई देश र न्यायक्षेत्रमा देखिएको अस्थिरता तथा असुरक्षाको समग्र सन्दर्भबाट हेर्न आग्रह गर्दै उनले न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र सञ्चारमाध्यमलाई यस्तो अनुरोध गरेका छन्।

‘मबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन,’ विज्ञप्तिमा उनले भनेका छन्।

न्यायिक विचलन ल्याउने कार्य अनुसन्धानको प्रक्रियामा रहेको उल्लेख गर्दै फुयालले आफूलाई लिएर सिर्जना गरिएको भ्रम, अर्धसत्य र चलिरहेको अनुसन्धानलाई प्रभावित पार्ने गरी भएका गतिविधिप्रति दुःख व्यक्त गरेका छन्।

उनले न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्न सम्पूर्ण न्यायकर्मीलाई आग्रहसमेत गरेका छन्।

न्यायाधीश फुयालले २०८३ कात्तिक १२ गते जारी गरेको विज्ञप्तिमा न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र प्रतिष्ठाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका हुन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update