काठमाडौं - प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अमेरिकामा घुससम्बन्धी प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। उनले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै समाचारलाई आधारहीन, झुटो र कपोलकल्पित भन्दै खण्डन गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ‘दियो पोस्ट’ अनलाइन पत्रिकालगायतका सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गरेका हुन्।
‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ लगायतका शीर्षकमा प्रकाशित समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनले बताएका छन्।
विज्ञप्तिमा शर्माले सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान तथा सम्पर्क नरहेको र उनीहरूलाई कहिल्यै नभेटेको दाबी गरेका छन्।
उनले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनासँग आफ्नो नाम जोडिएकोप्रति पनि आपत्ति जनाएका छन्। ती मितिमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको उनको भनाइ छ।
आधारहीन र जनतामा भ्रम फैलाउने उद्देश्यले समाचार प्रसारण गरिएको भन्दै शर्माले त्यसको भर्त्सना गरेका छन्। साथै, प्रकाशित समाचारको भ्रममा नपर्न उनले सर्वसाधारणलाई अनुरोध गरेका छन्।
प्रधानन्यायाधीश शर्माले २०८३ कात्तिक १२ गते जारी गरेको विज्ञप्तिमा आफ्नो नाम जोडेर प्रकाशित समाचारको खण्डन गर्दै प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन्।

