Harsamaya
तीन राहदानी 'बिचौलिया' प्रहरीको नियन्त्रणमा 
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं-प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले विभागको मूलगेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई 'छिटोछरितो पासपोर्ट बनाइदिने' भन्दै अतिरिक्त रकम लिने गरेका थिए ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेहरूले सेवाग्राहीलाई दुःख दिने तथा राहदानी विभागका कर्मचारीहरूको काममा समेत अवरोध पुर्‍याउँदै आएको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update