Harsamaya
ललित दरबारमा चोरी, सुन–चाँदीका गहना र नगदसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको ललित दरबारस्थित घरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीका नगद तथा गरगहनासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०८३ कार्तिक १६ गते बिहान ६ बजे काठमाडौं महानगरपालिका–१ ललित दरबारस्थित तीन तलाको पक्की घरमा बहुमूल्य सुनचाँदीका गरगहना तथा नगद चोरी भएको सूचना प्राप्त भएको थियो ।

सूचनापछि दरबारमार्गबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो । सोही क्रममा कार्तिक १८ गते बिहान १० बजे काठमाडौं महानगरपालिका–१ नक्सालमा बस्ने २५ वर्षीय प्रितम गुरुङ र २१ वर्षीया प्रिया गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरू बस्ने कोठामा खानतलासी गर्दा चोरी भएका विभिन्न सामान फेला पारेको जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट सुनजस्तो देखिने विभिन्न गहना, चाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपाली रुपैयाँ ३ लाख ८४ हजार र अमेरिकी डलर १ हजारसहित चोरीमा प्रयोग भएका तथा चोरीका सामान बरामद गरिएको छ ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update