काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको बिहार राज्य, भोजपुर जिल्ला टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई पक्राउ गरेको हो ।
कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग–२०२६ को तेस्रो संस्करणका क्रममा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले सिन्हाको साथबाट दुई थान मोबाइल बरामद गरी जाँच गर्दा उनले allpanelexch9.game, apwin247.com, bazimaaro.online र tnbook247.com नामका अनलाइन सट्टेबाजी साइटमा लगइन गरी नेपाली रुपैयाँ ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने) कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

