Harsamaya
जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुर्खेत - जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।

जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा घटना भएको हो ।

घटनाको जानकारी राति करिब ९ः४० बजे प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ ।

घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update