डोल्पा - जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदीलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। कारागारबाट फरार भएको चार दिनपछि उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०८३ कात्तिक १४ गते बिहान ६ बजे जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। आज खोजतलासका क्रममा रङ गाउँस्थित कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुवै जना फेला परेका थिए।
पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय रहेका छन्। उनी जबरजस्ती करणीसम्बन्धी कसुरमा दोषी ठहर भई ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन्।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ घर भएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार पनि पक्राउ परेका छन्। उनी नकबजनी चोरीसम्बन्धी कसुरमा दोषी ठहर भई ३ वर्ष कैद सजाय तोकिएका कैदी हुन्।
कारागारबाट फरार भएपछि प्रहरीले उनीहरूको खोजी तीव्र पारेको थियो। सोही क्रममा लुकिछिपी बसेको स्थान पहिचान गरी दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै कैदीलाई कारागारमा फर्काउने प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

