Harsamaya
‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा दुवै आँखा गुमाएका सुर्खेत वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष बोहरालाई भेट्दै ।

काठमाडौ - प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा दुवै आँखा गुमाएका सुर्खेत वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष बोहरालाई भेटेर जानकारी लिएकी छिन् । आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उनले बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । 

प्रधानमन्त्री कार्कीले उपचारको प्रगतिबारे चिकित्सकसँग जानकारी लिनुका साथै बोहरा परिवारसँग भेट गरी आवश्यक सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । गत भदौ २४ गते सुर्खेतमा भएको घटनामा गोली लागेर बोहराले दुवै आँखा गुमाएका थिए । 

प्रधानमन्त्री कार्कीसँग घाइतेका बुवा चन्द्रबहादुर बोहोराले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरे । उनले छोरा एवं आश्रित परिवारको भविष्य अनिश्चित भएको भन्दै श्रीमती, चार वर्षीया छोरी तथा बुबाआमाको जीविकोपार्जनमा ठूलो कठिनाइ हुने भन्दै ध्यानाकर्षण गराए । 

परिवारसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले उपचार तथा आवश्यक सहयोग गर्ने आश्वासन दिए । उनले भने, ‘तपाईँलाई धेरै दुःख परेको छ भन्ने म बुझ्छु । हामी पनि आमाबाबु हौँ । उपचारका लागि सम्भव जति सबै उपाय प्रयोग गर्छौं । बच्चाको पढाइ र श्रीमतीको रोजगारीका विषयमा पनि पहल गर्छौँ ।’ 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update