
परराष्ट्र मन्त्रालयले इजरायलबाट विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ । इजरायलस्थित नेपाली राजदूतावासमार्फत आवश्यक प्रक्रिया पूरा गरेर मृतक विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । अरु के के भए ? मुख्य समाचारहरू ।
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु
परराष्ट्र मन्त्रालयले इजरायलबाट विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ । इजरायलस्थित नेपाली राजदूतावासमार्फत आवश्यक प्रक्रिया पूरा गरेर मृतक विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मङ्गलवार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधन भएको औपचारिक जानकारी दिएका थिए ।
‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले अपहरण गरेर गाजामा बन्धक बनाएर राखेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन
सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् ।गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको थियो । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस गरिएकामा दर्ताका लागि अध्ययन भइरहेको छ ।
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बुधवार ४ बजेसम्मको समय
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोली बुधबार अपराह्न ४ बजेसम्म दलहरूलाई आह्वान गरेकी हुन् ।
केही दिन पहिला मात्र नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले सँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेस गरिसकेका छन् । भोलि बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा काँग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ ।
सिके राउतबाट फुटेको जनस्वराज पार्टी आयोगमा दर्ता
डा. सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । जनमत पार्टीको ५२ जनाको केन्द्रीय समितिबाट १४ जना अर्थात् २६ प्रतिशत केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
आयोगले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सनाखत गराउने निर्णयपछि पार्टी फुटाएका १४ जनाले सोमबार आयोगमा पुगेर सनाखत गरेका थिए । दर्ता भएको दलमा अध्यक्ष दीपककुमार साह, उपाध्यक्ष इरफान अहमद शेष, सुरज सिंह, सुरेन्द्रनारायण यादव र शम्भुनाथ साह रहेका छन् भने महासचिव सुनिलकुमार यादव रहेका छन् । यादव जनमत पार्टीका तत्कालीन कोषाध्यक्ष हुन् ।
पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा
इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ।
एक विज्ञप्तिमा भनिएको छ,‘देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतंककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।’
‘जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको स्वीकृतिपछि रिहा गरिएका सबै प्यालेष्टिनी बन्दीलाई ओफर जेलबाट वेस्ट बैंक, पूर्वी जेरुसेलम र क्ट्जिओट जेलबाट केरेम शालोममा रिहा गरिएको छ।’ गाजातर्फ प्रवेश गर्ने एक स्थानलाई संकेत गर्दै विज्ञप्तिमा भनिएको छ।