Harsamaya
असोज २६: दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो । अरु के के भए ? मुख्य समाचारहरू ।

सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा  राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई पुष्टि गर्ने श्रव्यदृश्य, फोटो र कागजातहरू जस्ता प्रमाण भए सो समेत उपलब्ध गराउन अनुरोध गरिएको छ । 

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । २०७९ पुष १० गते २ वटा सुट्केश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) मार्फत् सुन तस्करी गरेको अभियोगमा आज अनुसन्धानका लागि महरालाई प्रहरीले पक्राउ गरेको हो । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एक विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ । भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको भनी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ गरेको समाचारमा कुनै सत्यता छैन
नेपाली काँग्रेसका वरिष्ठ नेता वरिष्ठ डा.शेखर कोइरालाको सचिवालयले कोइरालालाई जोडेर आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वकीय सचिव दिनेश चन्द्र थपलियाले एक विज्ञप्ति जारी गर्दै २०८२ असोज २६ गते, आइतबार प्रकाशित अनलाइनखबरमा 'देउवासँग शेखरले कार्यवाहक मागेको दाबी' शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा
इजरायलले आफ्ना बन्धकहरू मुक्त भएपछि अमेरिकी स्वीकृतिमा गाजा क्षेत्रमा रहेको हमासको भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना बनाएको जनाएको छ । रक्षामन्त्री इजरायल काट्जले आइतबार जारी गरेको विज्ञप्तिमा भने, ‘बन्धक मुक्तिको चरणपछि इजरायलको सबैभन्दा ठूलो चुनौती गाजामा रहेका हमास आतंकवादी सुरुङहरूको सम्पूर्ण विनाश हुनेछ । मैले सेनालाई यो अभियानका लागि तयार रहन आदेश दिएको छु ।’काट्जका अनुसार यो अभियान संयुक्त राज्य अमेरिकाको नेतृत्वमा स्थापित ‘अन्तर्राष्ट्रिय संयन्त्र’ अन्तर्गत सञ्चालन गरिनेछ । उक्त संयन्त्रले हालै सम्पन्न तीन दिनको गाजा युद्धविरामलाई पनि प्रायोजन गरेको थियो ।

नेपाल युएईसँग एक रनले विजयी 
आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग एक रनले विजयी भएको छ । १४१ रनको लक्ष्य पछ्याएको युएईले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा मात्र १३९ बनाउन सक्यो । आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए । 

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update