Harsamaya
असोज २५ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् । अरु दिनभर के के भए ? मुख्य समाचारहरू

राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सामान्य बान्ता भएर उनलाई अस्पताल लगिएको हो । बान्ता भएपछि नसासम्बन्धी केही समस्या छ कि भनेर न्यूरोका डाक्टरहरूले हेरिरहेका छन् । उनको पाचन प्रक्रियामा समस्या देखिने गरेको छ । 
 
नर्सहरु आन्दोलनमा
पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरु तलब वृद्धिलगायतका माग राखेर पुनः आन्दोलित भएका छन् ।असोज १९ गते आइतबारदेखि आन्दोलित रहेका नर्सहरुले सोमबार वार्तापछि आफ्नो आन्दोलन स्थगित गरेका थिए । तर माग पूरा नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो काम जारी राख्दै अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना र नराबाजी गर्दै प्रदर्शन गरेका हुन् । आन्दोलनमा उत्रेका नर्सहरूले ‘हामीलाई न्याय दे, श्रम शोषण बन्द गर, हामी मेसिन हौं नर्स हौँ’ लगायतका नारा लगाएका थिए ।

युवकको विभत्स हत्या
कैलालीको घोडाघोडीमा युवकको विभत्स हत्या भएको छ ।घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । 

सर्यो काँग्रेस बैठक
नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन् । शनिबार बसेको काङ्ग्रेसको पदाधिकारी बैठकपश्चात उनले एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न र राजनीतिक मुद्दाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक दुई दिनको लागि सारेको बताए ।

भूजी लिग फुटबल
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा २७ औँ भूजी लिग फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । अमृत घामछायाँ खेल मैदानमा सुरु भएको प्रतियोगितामा नौं टिमले सहभागिता जनाएका छन् ।असोज २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैयाँ नगद सहित स्वर्ण पदक तथा रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ६७ हजार ७ सय २७ रुपैयाँ नगदसहित रजत पदक पाउने छ ।सेमिफाइनलदेखि फाइनलसम्मका खेलमा म्यान अफ द म्याच खेलाडी छनोट गरी आकर्षक पुरस्कार प्रदान गरिने भुजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारले जानकारी दिए ।

गाजामा ९ हजार ५०० भन्दा बढी बेपत्ता
 सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ। नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गरेका छन् । इजरायल र हमासबीच शुक्रबारदेखि युद्धविराम सम्झौता लागू भएदेखि नागरिक सुरक्षा कर्मचारीहरूले १५० भन्दा बढी शवहरू फेला पारेका छन् र सीमित उपकरणका कारण खोजी कार्यमा चुनौतीहरूको सामना गरिरहेका छन् ।  

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update