
सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । अरु दिनभर के के भए ? मुख्य समाचारहरू
केपी ओली र रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै फिर्ता पठायो
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको जाहेरी आज प्रहरीमै फिर्ता पठाइएको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाडौँमै फिर्ता गरिएको जानकारी दिए । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको उक्त जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो । आज आयोगले एक विज्ञप्ति जारी गरी फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको छ ।
मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा आलोचना गरेका छन् । बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानन्यायाधीस भइसकेको व्यक्ति कुनैपनि सरकारी पदमा बस्न नमिल्ने भएतापनि प्रधानमन्त्री बन्नकै लागि जेनजी आन्दोलनमा सहभागी हुन पुगेको आरोप लगाए । अहिले आफूलाई पक्राउ गर्नको लागि प्रधानमन्त्री कार्कीले रातभरी मिटिङ गरिरहेको उनको आरोप छ । ओलीले आफ्नो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखाएको टिप्पणी गरे । वर्तमान सरकार नेपालीहरुको प्रतिनिधित्वमा नबनेको बताउँदै बाह्य प्रतिनिधित्व रहेको अशंका व्यक्त गरे ।
२४ गतेको घटनालाई गृह मन्त्रालयले नै कारबाही नगर भनेको कुराप्रति काँग्रेसको गम्भीर आपत्ति
नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३, २४ गते भएको अराजकता गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कुरामा सबैको समान दृष्टिकोण आएको बताएका छन् । बिहीबार बसेको पदाधिकारी बैठकको क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भदौ २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो यसका बारेमा तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै यसमा सबै पदाधिकारीहरुको समान दृष्टिकोण आएको बताए ।
फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्यधिक विषादी
हरियो फर्सी, घिरौंला र काक्रोमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विषादी अवशेष विश्लेषण रिर्पोट अनुसार बिहीबार यी तरकारीहरुमा अत्यधिक विषादी रहेको पाइएको हो । समितिको रिर्पोट अनुसार मकवानपुरबाट चक्रविर तामाङसँग ल्याएको हरियो फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएकाले उपभोग अयोग्य भएको पाइएको हो । उक्त फर्सीमा ४५.५९८ प्रतिशत अर्गानो फोस्फेटको मात्रा भेटिएको समितिले जनाएको छ ।
२१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ । अधिकारीहरूका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रङ्गनाथनलाई गैरकानूनी हत्या र लागुऔषधमा मिलावट गरेको आरोप लगाइएको छ । मध्य प्रदेश राज्यमा गत महिना कम उमेरका बालबालिकाहरूको घातक विषाक्त पदार्थले दूषित खोकी सिरप सेवनपछि मृत्यु भएको थियो । सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ ब्रान्ड नामले उत्पादन गरिएको थियो ।भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डिइजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ ।
कुवेतसँग ५८ रनले नेपाल विजयी
इसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ । छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो ।
यता, एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । भियतनाको हो चिमिन सहरको गो डाउ रङ्गशालामा आज भएको खेलमा भियतनामसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो ।
यस्तै आजै भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् । उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए । उनले त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र काम सक्न निर्देशन दिएका छन् ।