Harsamaya
असोज २१ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौँ - भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ। आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा आयोगबाट कार्यादेशबमोजिम रायसहितका प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट यही असोज ९ गते जारी विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ । अरु के के भए ? मुख्य समाचारहरू ।

ओली र लेखकविरुद्धको जाहेरी आयोगमा
जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ । मृतकका परिवारमध्ये चार/पाँच जनाले घटनाका दोषी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।

बालेन्द्र र सुधनविरुद्ध निवेदन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले  प्रहरीमा निवेदन दिएको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलको टोलीले उनीहरूविरुद्ध निवेदन दिएको हो । प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि नगर्ने निर्णय गर्ने जवाफ दिएको अखिलका महासचिव दीपक धामीले जानकारी दिए ।

सिंहदरबारमा दमकल नपठाएको आरोपमा बालेन्द्रको स्पष्टीकरण
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म कुन कुन दिन कुन कुन स्थानमा दमकल पुगेर आगलागी निभाइयो भन्ने सम्पूर्ण जानकारी गराएका हुन् । यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो? सिंहदरबार जलाउने नै बालेन शाह हो जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेको भन्दै उनले आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन दमकल पुग्न नसकेको उनले जानकारी दिएका छन् ।

चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्छ
निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ । मंगलबार सरोकारवालाहरुसँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोग तयार रहेको भन्दै सरकारले दलसँग छलफल गर्नुपर्ने बताए ।

हमास आक्रमणको दुई वर्ष पूरा
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । यी दुई वर्षमा इजरायल र प्यालेस्टिनी गरी ६८ हजार बढीको मृत्यु भएको छ ।  इजरायलमा भएको हमास आक्रमणमा विभिन्न मुलुकका नागरिकसहित एक हजार २०० इजरायलीको मृत्यु भएको थियो । बदलामा इजरायलले चलाएको हमासविरोधी अभियानमा कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् । दुई वर्ष पहिले आजकै दिन (अक्टुबर ७) मा इजरायलले आफ्नो इतिहासको सबैभन्दा कालो दिनको सामना गरेको थियो । गाजामा लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ४७ जना अझै बन्धक छन् तर त्यसमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ । नेपालका विपिन जोशी पनि दुई वर्षदेखि हमासको कब्जामा छन् । 

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी-२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो। मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो । 

यस्तै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ । ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा भएको खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो ।

यता, भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरेका थिए । 

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update