Harsamaya
असोज २०: दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्य तालिका स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मङ्सिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । अरु के के भए ? आजका मुख्य समाचारहरू ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्य तालिका स्वीकृत गरेको हो ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मङ्सिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका सङ्कलन गरी मतगणना सुरु गरिनेछ ।

जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  सबै आयुक्तको राजीनामा

 

विभिन्न जेनजी समुह र व्यक्तिहरू आबद्ध भएका जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वैच्छिक राजीनामा माग गरेका छन् ।

जेनजी मुभमेन्ट अलायन्सले  विज्ञप्ति जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरङ्कुश ढङ्गले पूर्व प्रधानमन्त्री केपी  शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरूको स्वैच्छिक राजीनामा माग गरेका हुन् ।

२०८२ साल भाद्र २३ गतेबाट जनेजी द्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य भएको हुनाले यी मागहरू पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र र सक्षम पदाधिकारीले नेतृत्व गर्न अत्यावश्यक रहेको पनि उनीहरूको भनाई छ ।

अविरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान मृत्यु, ६ जना अझै बेपत्ता

 

असोज १७ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् ।

वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ ।

इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलान्चोकमा १ जनाको ज्यान गएको छ ।

बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, र रौतहटमा गरी ६ जनाको मृत्यु भएको छ । यस्तै, रौतहटमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने उदयपुरमा अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको हो । बेपत्ता भएकामध्ये रसुवामा बाढीले ४ जना, इलाममा १ जना, र पहिरोमा परी इलाममै १ जना बेपत्ता भएका छन् ।

बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग

अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षति पुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमित हवाइसेवा सञ्चालन गर्न माग गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएकाले तत्काल वैकल्पिक व्यवस्था स्वरूप काठमाडौं–मन्थली हवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हवाई सेवा सञ्चालन भएमा रामेछापवासी तथा यात्रुहरूलाई काठमाडौं आउजाउमा सहज हुने निष्कर्ष निकालेको छ । अहिले राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं जानका लागि दोलखाको चरिकोट हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता बनेको छ ।

बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, सर्लाहीमा १६ सय भन्दा बढी घर डुबानमा

यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्यांक अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।

यस्तै दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १ हजार ६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।

कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना

गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरूबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधार गृहका कैदी हुन् ।

यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए ।  जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधार गृहबाट भागेका कैदी ९ सय ६४ जना रहेका छन् ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update