Harsamaya
असोज १८: दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अरु दिनभर के के भए ? मुख्य समाचारहरू

सवारी साधन काठमाडौं आउन जान नपाउने
काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको जनाएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।

सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस्
प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छिन् । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरेकी छिन् ।

निरन्तर निगरानी एवं अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताएका हुन् । असोज १७ गते बेलुकीदेखि निरन्तर परिरहेको वर्षाको मन्त्रालय र अन्तर्गतका निकायले पहिलेदेखि नै सूचना जारी गरेर सतर्क गराइएको उनले उल्लेख गरेका छन् । 

चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट
चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ । सरोकार भएकाहरूसहित आज जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्लाभरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उनले बताए । 

बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो
 काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चार वटा विद्यालयमा सारिएको जानकारी दिए । उनका अनुसार विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई राखिएको छ ।

दुर्घटनामा १३ जनाको मृत्यु 
देशभर भएका दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । पाँचथर, कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे.१ ज ३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार तीन जना पुरूष र तीन जना महिला गरी ६ जनाको मृत्यु भएको छ ।

गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु
हमास–इजरायली द्वन्द्वका कारण विगत दुई वर्षमा गाजा पट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अधिकारीहरूले गाजाका अस्पतालहरूको अवस्था भयावह रहेको चेतावनी दिए। जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।

नेपालले मलेसियालाई जित्यो
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update