
काठमाडौं - विभिन्न जेनजी समुह र व्यक्तिहरू आबद्ध भएका जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वैच्छिक राजीनामा माग गरेका छन् ।
जेनजी मुभमेन्ट अलायन्सले विज्ञप्ति जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरङ्कुश ढङ्गले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरूको स्वैच्छिक राजीनामा माग गरेका हुन् ।
२०८२ साल भाद्र २३ गतेबाट जनेजी द्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य भएको हुनाले यी मागहरू पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र र सक्षम पदाधिकारीले नेतृत्व गर्न अत्यावश्यक रहेको पनि उनीहरूको भनाई छ ।
हाल आयोगका प्रमुखलगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद नभएका कारण सम्पुर्ण आयुक्तको पदलाई रिक्त बनाउन प्रमुख आयुक्त लगायत अन्य आयुक्तको राजीनामा अति आवश्यक रहेको हुनाले जेनजी मुभमेन्ट अलायन्सले उनीहरूको राजीनामा माग गरेको हो ।
साथै, उनीहरूले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रिया मार्फत सबै योग्यता भएका तथा सक्षम नागरिकले आवेदन दिन सक्ने गरी निष्पक्ष नियुक्ति समिति गठन गरी रिक्त भएका आयोगका पदहरूका लागी नयाँ आयुक्तहरू नियुक्ति गर्न पनि अनुरोध गरेका छन् ।