Harsamaya
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने भएको छ । मौसम विज्ञान विभागका अनुसार त्यसपछि वर्षाको गतिविधिसमेत घट्दै जानेछ ।

विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका मौसमविद् डेभिड ढकालले शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमशः कम हुने भए पनि मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन् ।

भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्दा कमजोर न्यूनचापीय क्षेत्रमा परिणत भएकाले यहाँ वर्षा, हिमपात र हावाहुरीको प्रभाव सामान्य रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति पनि देशका अधिकांश स्थानमा बदली रहने र मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागको पूर्वानुमान छ । केही स्थानमा भने भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर रेकर्ड भएको छ । यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update