
वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अरु के के भए ? आजका मुख्य समाचारहरू ।
इलाम पहिरोमा ज्यान गुमाउने ३७ को सनाखत
इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजे देखि बन्द
नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले अहिले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।
बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति
असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । उर्जा जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नदी कटान, डुबान र बाढीका कारण उक्त क्षति भएको हो ।
नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं
नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सँधै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन् ।
भियतनामसँग खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेका छन् । एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस्य नेपाली टोलीको घोषणा गरेका हुन् ।