Harsamaya
टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले नेपाल विजयी

काठमाडौं - आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ । छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो ।

बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको योगदान गरेका दिए । गुल्सन झाले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए ।

बलिङमा कुवेतका नवीनराज राजेन्द्र र अनुदीप चन्दमाराले समान २–२ विकेट लिएका थिए । नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update