Harsamaya
असोज २२ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

गाजामा बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको सार्वजनिक गर्न लागेका हुन् । अरु के के भए ? मुख्य समाचारहरू ।

विपिन जोशी बन्धक बनेको भिडियो आज सार्वजनिक हुँदै
गाजामा बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको सार्वजनिक गर्न लागेका हुन् ।  बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो । इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।  आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) भिडियो सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ । 

पूर्व मन्त्री राजकुमार गुप्ता र रन्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।आयोगले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

 विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक
प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपाली राजदूतहरूसँग भर्चुअल बैठक सम्पन्न गरेकी छन् । बुधबार साँझ भएको बैठकमा प्रधानमन्त्रीले नेपालमा भएको परिवर्तनको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने र निर्वाचनको लागि विदेशी सरकार र संस्थाहरूसँगको समन्वयको बारेमा निर्देशन दिनु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

उनले भने, ‘बैठकको क्रममा प्रधानमन्त्रीले मूलतः पाँच वटा विषयमा निर्देशन दिनु भएको छ । पहिलो विषय नेपालमा यति ठूलो जुन परिवर्तन भएको छ यसको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने दोस्रो जुन निर्वाचनको मिति तय भएको छ ।

फ्रि शेयर मागेर बन्द गराइएको भोटेकोसी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरूका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । अध्यक्ष गणेश कार्कीले  जेनजी युवाहरूको नाममा जलविद्युत आयोजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशीघ्र आयोजना सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग गरेका थिए ।

बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने 
कोशी प्रदेश सरकारले केही दिनअघि  गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।

राष्ट्रका सम्पत्ति जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने अनेरास्ववियुको चेतावनी
नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै धामीले ‘अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छ भन्ने बुझ्नुपर्छ’ भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा त्यसका उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update