Harsamaya

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपाली राजदूतहरूसँग भर्चुअल बैठक सम्पन्न गरेकी छन् । बुधबार साँझ भएको बैठकमा प्रधानमन्त्रीले नेपालमा भएको परिवर्तनको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने र निर्वाचनको लागि विदेशी सरकार र संस्थाहरूसँगको समन्वयको बारेमा निर्देशन दिनु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

उनले भने, ‘बैठकको क्रममा प्रधानमन्त्रीले मूलतः पाँच वटा विषयमा निर्देशन दिनु भएको छ । पहिलो विषय नेपालमा यति ठूलो जुन परिवर्तन भएको छ यसको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने दोस्रो जुन निर्वाचनको मिति तय भएको छ ।

निर्वाचनमा विदेशी सरकार र संस्थाहरूको सहयोग आवश्यक पर्ने हुँदा त्यसको लागि आवश्यक समन्वय गर्न, तेस्रो आन्दोलनको क्रममा पर्यटनको क्षेत्रमा जुन प्रभाव परेको थियो अहिले भने नेपाल खुलेको छ र पर्यटनलगायत आर्थिक गतिविधिहरू सुचारु भइसकेको छ अवस्थामा यो विषयलाई सबै ठाउँमा प्रचार प्रसार गर्न आवश्यक छ भन्ने विषय राख्नु भएको छ ।’

साथै, उनले विदेशमा रहेका नेपालीहरूको अपेक्षा अनुसार छिटो प्रविधिमैत्री सेवा प्रवाह गर्न र पुनर्निर्माण कोषको खाताको विषयमा पनि प्रचारप्रसार गर्नको लागि सबै राजदूतहरूलाई प्रधानमन्त्रीले आग्रह गरेको पनि बताए ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update