
राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् । शुक्रवार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले उक्त आग्रह गरेका हुन् । अरु दिनभर के के भए ? मुख्य समाचारहरू ।
आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन
कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दावी समेत गरे । लेखकले आफू र प्रधानमन्त्री केपी शर्माले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताए ।
सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति
अन्तरिम सरकारको क्रियाकलापप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । ‘यो सरकारले जे क्रियाकलाप गर्दैछ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केही कुरामा हाम्रो आपत्ति छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो । त्यसका लागि सबै दलहरुलाई एकसाथ लिएर अगाडि बढ्नुपर्ने थियो,’ उनले भने ।
छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौं
नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेको बताएको छ । शुक्रबार एक सूचना जारी गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको जानकारी गराएको हो । ‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं,’ सूचनामा भनिएको छ ।
यता, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चार माध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका हुन् ।
यस वर्षको मनसुन बाहिरियो
यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ । यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । असोज २० गते नेपालको सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो ।
इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक
इजरायलको न्याय मन्त्रालयले शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागको रूपमा गाजामा बन्धक बनाइएका बन्धकहरूको बदलामा रिहा गरिने २५० कैदीहरूको सूची प्रकाशित गरेको छ। यो सूचीमा रिहाइको लागि हमासले माग गरेका धेरै वरिष्ठ प्यालेस्टिनी लडाकू नेताहरूको नाम समावेश गरिएको छैन । इजरायली जेलमा आजीवन कारावासको सजाय भोगिरहेका प्यालेस्टिनी नेताहरू मारवान बरघोटी, अहमद सादत, हसन सलामेह र अब्बास अल–सैयद हुन् तर यो सूचीमा उनीहरूको नाम समावेश छैन। हत्याको आरोपमा सन् २००४ मा आजीवन कारावासको सजाय सुनाइएको र इजरायलले आतङ्कवादी मानेका बार्घोटीलाई प्यालेष्टिनी समर्थकहरूले कहिलेकाहीँ ‘प्यालेस्टिनी मन्डेला’ भनेर वर्णन गर्नेगरेका छन् ।
नेपाल जापानमाथि ५ विकेटले विजयी
नेपाल जापानलाई ५ विकेटले हराउँदै आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बनेको छ । शुक्रबार ओमनमा जारी खेलमा जापानमाथि जित हासिल गरी नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको हो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेलले २१ रन बनाए । यस्तै, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।