Harsamaya
नेपाल युएईसँग एक रनले विजयी 
नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई जितेपछि खुशी मनाउँदै नेपाली खेलाडी ।

काठमाडौं -  आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग एक रनले विजयी भएको छ ।

१४१ रनको लक्ष्य पछ्याएको युएईले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा मात्र १३९ बनाउन सक्यो । 

आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।

युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए । 

नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो ।

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । 

आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । 

नेपालले दोस्रो खेल भोलि कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update