Harsamaya
बेपत्ता छोरीको खोजी माग्दै प्रहरी कार्यालयअगाडि टायर बालेर प्रदर्शन
टायर बालेर प्रदर्शन ।

इनरुवा - सुनसरीको दुहबीमा एक महिनादेखि बेपत्ता रहेकी १७ वर्षीया छोरीको खोजी गरिदिन माग गर्दै परिवार र स्थानीयवासीले प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन्।

दुहबी नगरपालिका–३ का रमेश यादवकी छोरीलाई दुहबी नगरपालिका–९ का अन्दाजी १७ वर्षीय फयाज हुसेनले गत कात्तिक ७ गते भगाएर लगेको आरोप परिवारको छ। छोरी बेपत्ता भएपछि परिवारले भोलिपल्टै अर्थात् कात्तिक ८ गते आरोपितको हुलियासहित इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिएको थियो।

तर, एक महिना बितिसक्दा पनि छोरीको अवस्था पत्ता नलागेको र आरोपित व्यक्ति पक्राउ नपरेको भन्दै परिवारले प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा आक्रोशित परिवार तथा स्थानीयवासीले इलाका प्रहरी कार्यालय दुहबीअगाडि टायर बालेर नाराबाजी गरेका थिए। उनीहरूले कोशी राजमार्गसमेत केही बेर अवरुद्ध गरेका थिए।

छोरीको खोजी तथा घटनामा संलग्न भनिएका व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै परिवारले पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेको छ।

यता, सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले भने दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र सोही कारण उनीहरू घरबाट गएको बताएका छन्। उनका अनुसार केही दिनअघि मात्रै दुवै जनालाई एकपटक परिवारको जिम्मा लगाइएको थियो। तर, उनीहरू पुनः घरबाट गएको प्रहरी उपरीक्षक मल्लले बताए।

प्रहरीले दुवै जनाको खोजी कार्य जारी रहेको जनाउँदै छिट्टै फेला पारेर कानुनी दायरामा ल्याउने जनाएको छ।

यसैबीच, बुधबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु भएको छ। सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका १२ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेका बेला दुहबीमा भने बेपत्ता छोरीको खोजीका लागि परिवार नै आन्दोलनमा उत्रिनुपर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update