
एजेन्सी - इजरायलले आफ्ना बन्धकहरू मुक्त भएपछि अमेरिकी स्वीकृतिमा गाजा क्षेत्रमा रहेको हमासको भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना बनाएको जनाएको छ ।
रक्षामन्त्री इजरायल काट्जले आइतबार जारी गरेको विज्ञप्तिमा भने, ‘बन्धक मुक्तिको चरणपछि इजरायलको सबैभन्दा ठूलो चुनौती गाजामा रहेका हमास आतंकवादी सुरुङहरूको सम्पूर्ण विनाश हुनेछ । मैले सेनालाई यो अभियानका लागि तयार रहन आदेश दिएको छु ।’
काट्जका अनुसार यो अभियान संयुक्त राज्य अमेरिकाको नेतृत्वमा स्थापित ‘अन्तर्राष्ट्रिय संयन्त्र’ अन्तर्गत सञ्चालन गरिनेछ । उक्त संयन्त्रले हालै सम्पन्न तीन दिनको गाजा युद्धविरामलाई पनि प्रायोजन गरेको थियो ।
हमासले गाजा भूमिगत क्षेत्रमा व्यापक सुरुङ सञ्जाल सञ्चालन गर्दै आएको छ । ती सुरुङले हमासका लडाकूहरूलाई इजरायली निगरानी र हवाई आक्रमणबाट बच्न मद्दत गर्दछ । ती सुरुङमध्ये केहीले इजरायलको सीमापर्खालमुनि प्रवेश गर्दै आकस्मिक आक्रमणहरू गर्न सम्भव बनाएका थिए ।
सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको सीमापार आक्रमणपछि सुरु भएको दुई वर्ष लामो युद्धमा यी सुरुङहरू मध्ये धेरै नष्ट भइसकेका छन् । तथापि रक्षामन्त्री काट्जले बाँकी रहेका सबै सुरुङहरू ‘हमासको निःशस्त्रीकरण र विसैन्यीकरणको ढाँचा’ अन्तर्गत पूर्ण रूपमा ध्वस्त पारिने बताउनुभयो । यो योजना अमेरिका समर्थित युद्धविरामको दोस्रो चरणमा समावेश गरिएको छ ।
हमासले भने अमेरिकी प्रस्तावको पहिलो चरणमा सहमति जनाइसकेको छ । उक्त सहमतिअनुसार गत शुक्रबार युद्धविराम लागू भएको हो । यस योजनाअनुसार सोमबारसम्म ४८ जना इजरायली बन्धकहरू जीवित र मृत दुवै मुक्त गरिने अपेक्षा गरिएको छ ।