
काठमाडौं - परराष्ट्र मन्त्रालयले इजरायलबाट विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ । इजरायलस्थित नेपाली राजदूतावासमार्फत आवश्यक प्रक्रिया पूरा गरेर मृतक विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मङ्गलवार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधन भएको औपचारिक जानकारी दिएका थिए ।
‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले अपहरण गरेर गाजामा बन्धक बनाएर राखेको थियो ।
इजरायल र हमासबिच युद्ध विराम सम्झौता भएपछि हमासले सोमबार विपिन जोशीसहित ४ जनाको मृत्यु भएको जानकारी गराएको थियो । सोमबार नै गाजा पुगेर विपिनसहित ४ जनाको शव रेडक्रसको टोलीले इजरायल ल्याएका थिए ।
डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्य तिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको इजरायलले जनाएको छ । यस्तै विपिनको शव नेपाल ल्याइसकेपछि पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन उचित पहल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।