
काठमाडौं - हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ । अरु के के भए ? मुख्य समाचारहरू ।
हमासद्धारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि,आजै शव इजरायल पठाउने घोषणा
हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भइसकेको पुष्टि गरेको छ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ ।
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् । हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ ।
ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘थ्यांक यू’ लेखिएको दृश्य देखाएको थियो । उनको स्वागतमा जनताले पोस्टरहरू पनि उठाएका थिए ।
आई २४ न्यूज इजरायलका अनुसाार २० जीवित बन्धकमध्ये पहिलो सात जनालाई रेड क्रसले उत्तरी गाजामा इजरायली सेनालाई सुपुर्द गरेका छन् । टाइम्स अफ इजरायलका अनुसार, बन्धकहरूको रिहाइको खबर सुन्दै होस्टेज स्क्वायरमा भिडले ठूलो खुशीयाली मनाएको थियो ।
सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराविरुद्ध मुद्दा दायर
पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमबार उनी विरुद्ध भन्सार छलेको र सङ्गठित अपराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र सङ्गठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ।
लोसपाले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले मङ्गलवार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ ।
मन्त्री कुलमान घिसिङ र कोरियाका राजदूतबीच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङ (Park Taeyoung) बीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा मन्त्री घिसिङले नेपालको ऊर्जा सन्तुलन, विद्युत निर्यातका लागि ठूला जलाशयुक्त जलविद्युत आवश्यक रहेकाले पाँच सय मेगावाटभन्दा ठूला त्यस्ता आयोजनामा सरकार–सरकार तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानीमा, कोरियामा सफल रहेको एवम् नेपालमा प्रचुर सम्भावना रहेको हरित हाइड्रोजनको उत्पादनलाई नमुना परियोजनाको रुपमा विकास गरी यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।
भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणा
नेपाल सरकारले २०८२ असोज २३ गते भूमि समस्या समाधान आयोग खारेज गरेपछि भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबास र श्रमजीवी जनताको अधिकार कुण्ठित भएको भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।
दुवै सङ्गठनले सोमबार पत्रकार सम्मेलन गर्दै आयोग खारेज गर्ने निर्णय ‘मानव अधिकार प्रतिकूल र जनविरोधी’ भएको आरोप लगाएका छन् । उनीहरूले आयोगको पुनः स्थापनाको माग गर्दै भोली २८ गते काठमाडौंको तीनकुनेमा एक घण्टे विरोध प्रदर्शन तथा कोणसभा गर्ने घोषणा गरेका छन् ।