Harsamaya
असोज ५ : आज दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् । अरु दिनभर के के भए ? मुख्य समाचार ।

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस
प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।  सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जेनजीहरूको आन्दोलनमा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग 
सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्नका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी  छन् । आयोगलाई तीन महिनाको समय दिइएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । गृहमन्त्री अर्यालका अनुसार सरकारले खर्च कटौती गर्ने उद्देश्यले ३ करोडभन्दा कम रकमका टुक्रे आयोजनाहरूमा विनियोजन गरिएको रकम तत्कालका लागि रोक्का राख्ने निर्णय गरेको छ । यसरी खर्च कटौती गर्दा करिब १२० अर्ब रुपैयाँ चालू खर्चसमेत बच्न सक्ने देखिएको छ । रोक्का राखिएको उक्त रकमबाट सम्बन्धित मन्त्रालयहरूले पहिला काम गरिसकेको तर निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको रकम भुक्तानी दिन पाउनेछन् ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले ल्याए मनोज सिलवाल
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई ल्याएको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।

देश बचाउनको लागि संविधान खारेज नगरेको हो
हामी नेपालका संयोजक तथा जेनजी अभियान्ता सुदन गुरुङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।
गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताएका छन् । उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि गर्न सक्दिन । संविधान खारेज गर्ने कि नगर्ने? गर्यो भने के हुन्छ, हुँदैन?’तर, लिम्पियाँधुरा हाम्रो भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले संविधान खारेजको माग तत्काल अघि नबढाएको बताए ।

कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति
 गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित  उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो । 

माओवादीले केन्द्रीय समिति विघटन 
नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ । आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update