Harsamaya
असोज ३ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

आज देशभर संविधान दिवस मनाइएको छ । संविधान जारी भएको दिनको सम्झनामा संविधान दिवस मनाइएको हो। दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । अरु के के भए ? मुख्य समाचारहरू :-

आज संविधान दिवस मनाइयो
आज संविधान दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । २०७२ असोज ३ गते नेपाली जनताको लामो बलिदानी पूर्ण र लामो संघर्षको उपलब्धि स्वरूप संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

तोकिएको समयभित्र चुनाव सम्पन्न गर्न राष्ट्रपति आव्हान
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन्  । शुक्रबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।

संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग
नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए । त्यस्तै नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ । संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय समेत भएको छ । साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । 

दुई खर्ब बराबरको संरचना नष्ट 
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् । आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक क्षति पुगेको जानकारी दिए । उनले करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको अनुमान गरिएको बताए । 

मोर्चाले मनायो कालो दिवस
संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ । देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए ।

आठ हजार ८१६ कैदीबन्दी अझै फरार
भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौ वटा बाल सुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए । झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update