Harsamaya
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट
कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ ।

प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित  उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो । 

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब १० करोड बराबरको क्षति भएको छ ।

उनले प्रस्तुत गरेको क्षति विवरण अनुसार सभापति शेर बहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको निवास बुढानिलकण्ठमा रहेको घरमा आगजनी, तोड्फोड, लुटपाट गरी घरमा रहेका सभापति देउवा र आरजु राणाप्रति अमानवीय बर्बर्तापूर्ण सांघातिक भौतिक आक्रमण भएको थियो । आरजु राणा देउवाको नाममा रहेको कैलाली जिल्ला धनगढी उपमहानगरपालिकास्थित घरमा समेत आगजनी तोडफोड गरी भवन रहेको स्थानको जमिन बाहेक केही पनि बाँकी नरहेको अवस्था छ ।

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी सदस्यहरुको व्यक्तिगत घर तथा सम्पत्तिको क्षति विवरण अनुसार उपसभापति पूर्ण बहादुर खड्काको काठमाडौंमा रहेको घर तोडफोड गरी सामग्री बाहिर निकाली आगजनी, लुटपाट गरी सिसा तथा फर्निचरहरु जलाएर ध्वस्त पारिएको छ । सुर्खेतस्थित खड्का निवासमा आगजनी र तोडफोड गरी ध्वस्त गरिएको छ । 

पार्टीका महामन्त्री गगन कुमार थापाको काठमाडौंको रातोपूलमा रहेको घर आगजनी, तोडफोड, लुटपाट गरी पूर्णरुपमा ध्वस्त रहेको, एउटा गाडी र तीन वटा मोटरसाइकल पूर्णरुपमा आगजनी गरी ध्वस्त  रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । 

विश्वप्रकाश शर्माको ललितपुरमा रहेको भाडाको घरमा तोडफोड गरी फर्निचर लगायत सबै सामाग्रीहरु बाहिर निकालेर जलाएको, घरमा सीसाहरु तोडफोड गरिएको छ । झापास्थित मेचीनगर नगरपालिकामा परिवार रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरी सम्पूर्ण सामाग्री पूर्णरुपमा ध्वस्त पारिएको विश्वकर्माले बताए । 

यसैगरी कांग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।

कांग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update