
हमासले इजरायलबाट नियन्त्रणमा लिएका ४८ जनाको बिदाई तस्वीर सार्वजनिक गरेको छ । जसमा नेपालका विपिन जोशी पनि रहेका छन् । अरु के के भए दिनभर ? मुख्य समाचारहरू ।
नेपालका विपिन जोशीको पनि तस्वीर
हमासको सशस्त्र शाखाले गाजामा बाँकी रहेका अधिकांश बन्धकहरूको ‘बिदाइ’ हुनसक्ने भन्दै रिहा हुन बाँकी ४६ जनाको तस्वीर शनिबार प्रकाशित गरेको छ । हमासले गाजा शहरमा जारी पछिल्लो इजरायलको आक्रमणले उनीहरूलाई खतरामा पार्न सक्ने बताएको छ । सो तस्वीरमा नेपालका विपिन जोशीको पनि तस्वीर छ । यी तस्वीहरूले सन् १९८६ मा लेबनानमा गोली हानेर मारिएका एक इजरायली विमान चालकको घटनालाई स्मरण गराएको छ। सन् २०२३ को अक्टोबरमा इजरायलमाथि आक्रमण गर्दा प्यालेस्टिनी लडाकुहरूले कब्जा गरेका २५१ जनामध्ये ४७ जना गाजामा छन्, जसमध्ये २५ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ। ‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको जिद्दी र सैन्य प्रमुख इयाल जमिरको गाजालाई अधीनमा राख्ने पहलका कारण गाजा शहरमा कारबाहीको सुरूवातमा लिइएको एक ‘बिदाइ’ फोटो सार्वजनिक गरिएको छ,’ हमासको सशस्त्र शाखाले सार्वजनिक फोटोको साथ लेखेको छ।
दसैँ टीकाको साइत कुन देशमा कहिले ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।
समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।
नेपालमा यात्रा गर्दा सतर्क रहन भारतको आग्रह
नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।
तुइन खोलाको पहिरो अझै पन्छाउन सकिएन
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्री अलपत्र परेका छन् । शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने क्रम जारी रहेको जनाउँदै कार्यालयका प्रमुख नारायण लामिछानेले ठूलो पहिरो भएकाले रातको समयमा काम गर्न कठिन हुने बताए । आजका लागि पहिरो पन्छाउने काम रोकिएको छ । आइतबार बिहानदेखि पहिरो पन्छाइने जनाइएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट तीन वटा र नारायणगढबाट दुई वटा साधन परिचालन गरिए आज साँझ ६:३० बजे पुनः पहिरो खसेपछि काम रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
तातोपानी नाका अवरुद्ध हुँदा दशैंका सामान बाटोमै
अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दसैंका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन् । सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी समय भएपछि सरोकारवालाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्याकर्षणपत्र समेत बुझाइसकेका छन् । मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत दिएका छन् ।
भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो
कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् । उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे । शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियूसँग सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले भने‘चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दावी गर्दा जेनजी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो।’