
आज अन्तरिम सरकारका प्रधानमन्त्रीलाई विभिन्न देशका राजदूतहरूले भेटेका छन् । उनीसँग अमेरिकी र चीनका राजदूतले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटेका हुन् । अरु आज दिनभर के के भए ? मुख्य समाचार
प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् । बिहीबार भएको फोनवार्तामा प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनस्थापित गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए । वार्ता पश्चात सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते रहेको राष्ट्रिय दिवसको शुभकामना समेत दिए ।
देउवाको सचिवालय खण्डन
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पैसा भेटिएको भन्ने समाचार कपोकल्पित भएको उनका स्वकीय सचिव भानु देउवाले स्पष्ट पारेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलाइएका आधारहीन हल्लाप्रति आपत्ति जनाएका हुन् ।बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको सचिवालयले स्पष्ट पारेको छ ।
त्रिपालबाटै मुद्दा सुनुवाई
सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए ।
सरकारको मुख्य काम नै निर्वाचन गराउनु
गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् । बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले निर्वाचन आगोगलाई कुनै पनि सरकारले निर्देशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्नु पर्ने देखिएको बताएका छन् । उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न र निर्वाचन गराउने कुरा दाबी गरेका छन् । उनले यो सरकारको काम नै निर्वाचन गराउने हो भन्दै निर्वाचन समयमै गरिएन भने असफल हुने समेत बताएका छन् ।
काठमाडौंका एसएसपीको सरुवा
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सहित ६ जनालाई सरुवा गरिएको छ । जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौंमा एसएसपी रमेश थापालाई पठाइएको छ ।
अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका उनी आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सरेका हुन् । उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।
निर्वाचन तोकिएको समयमै हुनुपर्छ
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए ।
जनमतका ६ नेताले पार्टी त्यागे
जनमत पार्टीका ६ जना नेताले आफ्नो पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन् । उनीहरूले पार्टी सभापति सिके राउतको राजीनामा मागेपनि उनले नदिएपछि पार्टी नै छाडेका हुन् ।
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ मा ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको हो ।
उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु र कलात्मकता प्रस्तुति, त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’ लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।