
डा. सत्यराज थपलिया पौने दर्जन कृतिका स्रष्टा हुन् । नुवाकोटमा वि.सं. २००४ वैशाख १४ गते जन्मिएका थपलियाले आयुर्वेद विषयमा आचार्य उत्तीर्ण गरेका छन् । नेपाल सरकारको स्वास्थ्य सेवाबाट निवृत्त उनको लेखनीले कविता विधामा चालिसको दशकको उत्तरार्धपछि सक्रियता देखाएको भेटिन्छ । उनका प्रकाशित कृतिमा प्रणय सन्देश (खण्डकाव्य–२०४७), बिदा (लघुकाव्य–२०५५), श्रीमतीको चिठी (कवितासङ्ग्रह–२०६०), वैलिएको फूल (लघुकाव्य–२०६३), अन्यायको आवाज (लघुकाव्य–२०६३), थोत्रो घुम (लघुकाव्य–२०६३), जिजीविषा (गीतिकाव्य–२०६६), गाउँबेसी (गीतिकविता सङ्ग्रह–२०७१), रमा–सत्यसंवाद (गीतिकाव्य) र नीलकण्ठ महिमालगायत छन् ।
यस्तै उनका अप्रकाशित कृति आठ वटा छन् । थपलियाले वि.सं.२०६५ मा दीपज्योति सम्मानलगायत अन्य मानपदवी र पुरस्कार पाएका छन् । आफ्नो विगतका लेखन प्रसङ्गबारे थपलियाले भने– ‘वि.सं. २०३४ मा बैतडीकी एक महिलाले आफ्ना पिता बितेको कहानी बताएपछि त्यसबाट प्रभावित भई ‘पितृवियोग’ शीर्षकको कृति लेखें– जुन अप्रकाशित छ । सेवाको सिलसिलामा म अछाममा पुगेपछि ‘प्रणय सन्देश’ लेख्न थालेँ । जनस्वास्थ्य कार्यालय रसुवाका डा. गोपाल खनाल पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँ जहिले पनि कविता लेखेर पूरा गर्न प्रेरणा दिनुहुन्थ्यो ।‘प्रणय सन्देश’ काव्य पूरा हुनुमा उहाँको अविस्मरणीय देन छ । मैले रसुवाकै रामकृष्ण आचार्यलाई अर्का प्रेरकको रूपमा लिएको छु । जतिखेर म लहरेपौवाको आयुर्वेदमा कार्यरत थिएँ– त्यसबेला उहाँले मेरो कविता सिर्जनाबारे थाहा पाउनुभएछ र मलाई डाक्नुभयो । मैले कविता सुनाएँ । उहाँले भन्नुभयो– ‘यो त तिम्ले चोरेको कविता रहेछ । एउटा महाभारतको, एउटा देवीभागवतको अनि अर्को कृष्णचरित्रको, सबैतिरको जोडेर बनाएको रहेछ ।’ मैले भनेँ ‘३६ सै वटा अक्षर चोरेको, शब्द चोरेको तर श्लोक चोरेको छैन, यो कुरा तपाईंलाई पुष्टि गरिरहनु आवश्यक छैन ।’ त्यसपछि उहाँले भन्नुभयो– ‘साँच्चिकै तिमीले नै रचना गर्न सक्ने भए मेरो फूलबारी र बगैँचा हेरेर कविता बनाई भोलि सबेरै ल्याई सुनाऊ ।’ मैले भोलिपल्ट उहाँकै बगैंचाको कविता लेखेर सुनाएँ । अरू ३० जनाजति मान्छे पनि बोलाउनुभएको रहेछ । मैले कविता सुनाएपछि उहाँ धेरै खुसी हुनुभयो । उहाँले चोरेको भन्ने शब्दले पनि मलाई सही सिर्जना गर्न प्रेरणा जगायो । जागिरमा बस्दा पनि म श्रीमतीलाई शार्दूलविक्रीडित छन्दमा नै चिठी पठाउँथेँ ।’ उनै थपलियासँग हर समयकालागि जयराम सापकोटाले गरेको कुराकानीको अंश ।
तपाईंलाई मन पर्ने पुस्तक कुन कुन हुन् ?
मलाई श्रीमद्भगवद्गीता, श्रीमद्भागवत–महापुराण, रामायण, महाभारत, मुटुको व्यथा, सहनशीला सुशीला, बुद्धिविनोद, उपदेशमञ्जरी, गुणरत्नमाला, ज्ञानप्रदीप, बसाइँ, मसानजस्ता पुस्तक विशेष मन पर्दछन् । यीबाहेक अन्य सबै प्रकारका नयाँ-नौला पुस्तक भेटेपछि एक आवृत्ति नपढी चित्तै बुझ्दैन ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
जब आफू अथवा अर्कालाई परेको सुख, दुःख, हर्ष, बिस्मात आदि विषयले मन र मस्तिष्कलाई असर पार्छ–तब ती प्रत्यक्ष देखेका, भोगेका अनि अनुभव गरेका वा अप्रत्यक्ष रूपले सुनेका, जानेका विषयद्वारा प्रभावित हृदयबाट जेजस्ता भावना फुर्दछन् । तिनीहरूलाई तत्कालै लिपिबद्ध गरिएन भने भाव हराएपछि त्यही कुरा लेखूँ भने पनि लेख्न सक्तिनँ । त्यसैले भावनात्मक विचार भएकै बेलामा लेख्नुपर्ने बाध्यता रहेको महशुस हुन्छ ।
आफ्नो साहित्ययात्रालाई कसरी हेर्नुभएको छ ?
मैले आफ्नो साहित्यिक यात्रालाई कछुवाकै गतिमा भए पनि निरन्तर अघि बढाइरहेकोले सकारात्मक दृष्टिले नै हेरेको छु ।
साहित्यमा केही गर्न बाँकी छ जस्तो लागेको छ ?
मलाई साहित्यमा केहीमात्र होइन । आफूले सकेसम्म धेरै नै गर्न बाँकी छ जस्तो लाग्छ । प्रकाशोन्मुख अवस्थामा रहेका आफ्ना तीन वटा लघुकाव्य, तीन वटा कवितासंग्रह, दुई वटा खण्डकाव्य, एक वटा कोषकाव्य, एक वटा गीतिसंवादकाव्य र एक वटा बाल कवितासंग्रहसमेत झन्डै एक दर्जन कृति आफू जीवित छँदै प्रकाशन गर्न सके हुन्थ्यो भन्ने इच्छा छ । समयले के गराउँछ– त्यो हेर्नै बाँकी छ ।
लेखन तपाईंको बाध्यता हो कि व्यवसाय ?
लेखन मेरो बाध्यता र व्यवसाय दुवै होइन– रहरमात्रै हो । जगत् कुरुक्षेत्र हो भने जीवन संघर्ष हो । तन बूढो भए पनि मन बूढो हुँदैन । मान्छेको मन माछोजस्तै चञ्चल हुन्छ । शान्त भएर बस्नै सक्दैन । अर्चापेर थन्क्याइएको हँसियामा खिया लागेझैँ निष्क्रिय भएको बुद्धि पनि बोधो हुन्छ । विचारको सान लगाएर तिखारिएको बुद्धिले परमपद (शान्तिको बाटो) देख्छ । चिन्ता गर्नुभन्दा चिन्तन गर्नु नै राम्रो हुनाले भावना आउँदा नलेखी रहन पनि सक्दिनँ ।
तपाइँको पहिलो कृति कसरी प्रकाशन भएको थियो ?
मेरो पहिलो कृति “प्रणय सन्देश” नामक खण्डकाव्य श्रीमती रमा थपलियाद्वारा २०४७ मा प्रकाशन भएको थियो ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
म आजभोलि विभिन्न साहित्यिक एवं धार्मिक ग्रन्थ अध्ययन गर्ने, स्वास्थ्य तथा ज्योतिष–सम्बन्धी सल्लाह दिने र भाव फुरेको बेला फुटकर कविता वा लेख लेख्ने काममा व्यस्त छु ।
लेखेर के पाएँजस्तो लाग्छ ?
गीतामा भनिएको छ– ‘मान्छेलाई कर्म गर्नेमात्रै अधिकार छ । फलमा अधिकार छैन ।’ महाभारतमा भनिएको छ– ‘प्रारब्धमा भए उद्योगको सहायताले फल प्राप्त हुन्छ । नत्र हुँदैन ।’ बहर लगाउँदैमा गाई बियाउनै पर्छ भन्ने छैन । छल्न या तुहुन पनि सक्छ । दुःख गरेर रोपेको धान पाकेपछि नभित्र्याएसम्म असिना पर्दैन भन्न पनि सकिन्न । ‘भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अड्छ र ?’ भन्ने उखानै छ । तुहुने डरले गाईलाई बहर नलगाउनु र असिनाको भयले धान नरोप्नु त मूर्खता नै हो । त्यसैले त गीताले फलको आशा नलिई कर्म गर्नु भनेको हो । जिउँदो छँदा योग्य साहित्यकारलाई समेत वास्ता नगर्ने मरेपछि औपचारिकता पुर्याउनमात्र प्रशंसाको फेटा गुताई श्रद्धाञ्जली दिन पल्केका राजनीतिकर्मी भएको मुलुकमा एकाध अपवादबाहेक साहित्य लेखेर कसले पो के पाएको छ र ? मैले पाउनु । अरू केही नपाए पनि लेख्ने काम र नाम पाएको छु जस्तो लाग्छ । त्यसैमा सन्तुष्ट पनि छु ।
लेखन क्षेत्रमा कसरी लाग्नुभयो ?
काममोहित क्रौञ्चपन्छीको जोडीमध्ये भालेलाई व्याधाको वाण लागेकै बेला पोथीचाहिँको चित्कार सुन्दा संस्कृत साहित्यका आदिकवि वाल्मीकि ऋषिको मुखबाट छन्दोबद्ध श्लोक निस्किएजस्तै २०१४ जेठमा खेतमा मकै कुर्न जाँदा कौवाले दुःख दिएकोले सर्वप्रथम मेरो मुखबाट पनि अनायासै सवाइ छन्दको श्लोक निस्कियो । जुन यसप्रकार छ– ‘सुन सुन भाइबैनी आज केही भन्छु । अत्याचारी कौवाको म सवाइ कहन्छु । माथिबाट धपाउँदा तल्तिर गै बस्छ । आफू तल पुगुन्जेल घोगा च्यातिसक्छ’ । त्यसपछि २०२२ कार्तिकमा स्वर्गीय आमा लीलावती थपलियाले सपनामा आएर नीलो डायरी दिंदै ‘यसमा कविता लेख’ भन्नुभयो । डायरी लिनासाथै म ब्युझिएँ । आमा गायब । त्यतिबेलै टुकी बत्ती बालेर मातृवियोग शीर्षकमा कविता लेखें—
बिर्सन्छु बिर्सन्छु सदा भनीकन ।
अन्यत्र चौतर्फ डुलाउँछू मन ।
तथापि आमाकन सम्झी हर्दम ।
धुरुधुरु रुन्छ सदैव यो मन ।
वि.सं. २०२८।२९ मा नेपाल नेशनल कलेज (हाल शंकरदेव क्याम्पस) मा आईए पढ्दा लेखिएका सान्त्वना र शुभकामना शीर्षकका कविता कलेजकै जमरा पत्रिकामा छापिएपछि त्यसकै प्रेरणाबाट प्रेरित भएर लेखन क्षेत्रमा लागेँ ।
साहित्यतर्फ तपाईंको विधा कुन हो र यसलाई रोज्नुको कारण के हो ?
विभिन्न पत्रपत्रिकामा फाटफुट कथा, निबन्ध र लेखरचना प्रकाशन भइरहेका छन् तापनि साहित्यतर्फ छन्द कविता विधा नै मेरो मुख्य विषय हो । यसलाई रोज्नुको कारण भने अघि हिजोआजको जस्तो एकदिने विवाह गर्ने प्रचलन थिएन । दुईदिने विवाहमा जन्ती र घरगाउँलेका प्रतिनिधिबीच परस्पर श्लोक भन्ने र सुन्ने गरिन्थ्यो । कसैले पहिले नै काटिएको श्लोक भन्न नपाइने शर्त पनि राख्दथे । काटिएको श्लोक भनेमा काट्ने पक्षको विजय मानिन्थ्यो । त्यसैले अर्काले काट्न नसकोस् भनेर २०२३/२४ सम्म जन्त जाँदा म पनि प्रायः आफैंले रचेको अप्रकाशित श्लोक भन्थेँ । यही पूर्व संस्कारको प्रभावले र छन्द कविता पठनीय, श्रवणीय, स्मरणीय, लयदार, गेयात्मक, श्रुतिमधुर तथा मनमोहक हुने हुँदा मैले यसलाई रोज्न पुगेको हुँ ।
लेख्ने समय कसरी मिलाउनुहुन्छ ?
लेखन कार्यको लागि स्वच्छ, प्रशान्त र एकान्त ठाउँ उपयुक्त हुन्छ । त्यसैले म प्रायः बिहानीपख चार बजेपछिको समय मिलाउँछु । भाव फुरेमा जुनसुकै समयमा पनि लेख्न सकिन्छ । समय मिलाउनै पर्दैन ।
साहित्यकारको दायित्व कस्तो हुनुपर्छ ?
‘बहुजनहिताय बहुजनसुखाय’को सर्वकल्याणकारी निःस्वार्थ भावनाले ओतप्रोत भई देश, काल र परिस्थिति विचार गरेर आफ्नो राष्ट्र र राष्ट्रियतामा अडिग रही सनातन धर्म-संस्कृति, शान्ति, सुरक्षा एवं अमनचैनमा खलल नपुग्ने गरी समाजमा विद्यमान विसङ्गति, रुढीवादी प्रवृत्ति, कुरीति, कुप्रथा, अन्याय, अत्याचार, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, आतंक, लुटपाट, चोरी, डकैती, कालो बजारी, तस्कर, व्यापारी, पापी, अपराधी, आततायी, दुष्कर्मी, दुराचारी, स्वार्थी तथा परपीडकलाई निरुत्साह पार्दै विभिन्न विधामा उचित विम्ब र प्रतीकको प्रयोग गरेर सरल भाषामा सरस, बोधगम्य, यथासम्भव ज्ञानविज्ञानले सुसम्पन्न सशक्त साहित्य सृजना गरी त्यसैको माध्यमबाट बाटो भुलेका बटुवालाई सत्मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्नु नै सबै साहित्यकारको साझा दायित्व (हुनुपर्छ) हो ।